sikkim news darjeeling news indian gorkhas      Himgiri Nepali home     नेपाली लेख तथा समाचार

       

 

व्यक्तित्व परिचयः चन्द्रदास राई

सिक्किमको राजनीति, प्रशासन, साहित्य, पत्रकारिता आदि विविध क्षेत्रमा आफ्नो लामो समयसम्म बहुमूल्य योगदान पुराएर अझ 94 वर्षको उमेरमा पनि सकारात्मक विचारधारा बोकेर कलम चलाउँदै समाज सेवाको कामहरूमा अग्रणी रहेन जीवन्त पुरुषको नाम हो- चन्द्रदास राई वा प्रचलित नाम सी.डी. राई। उनी सिक्किमको माटोमा जन्मेका प्रतिभा र बहुचर्चित व्यक्तित्वका धनी पुरुष हुन्,जसलाई नेपाली साहित्य परिषद्, सिक्किमले शताब्दि पुरुष भनेर उपाधि प्रदान गरिसकेको छन् भने उनको लामो योगदानको फलस्वरुप उनलाई प्रेस एसोसिएसन् अफ दार्जीलिङद्वारा रजत् कलम पुरस्कार पनि प्रधान गरिसकेको छ भने आफू प्रेस क्लब अफ सिक्किमको अध्यक्षको कार्यकाल रहेको समयमा आफूले कञ्चन्जङ्गा कलम पुरस्कार पनि भारतीय नेपाली पत्रकारितामा उल्लेखनीय योगदान  गर्ने पत्रकारहरूलाई प्रदान गर्ने परम्परा पनि प्रारम्भ गरिसकेका छन्।

उनको जन्म 13 अप्रेल 1925-का दिन दक्षिण सिक्किमको मिक्खोला गाउँमा एक साधारण परिवारमा भएको थियो। उनको माताको नाम काजीमाया राई र पिता जितदास राई हो, जसको कोखमा चन्द्रदास राईको जन्म भएको थियो।

राजशासनमा शिक्षा दीक्षाको उचित व्यवस्था नहुँदा नाम्चीमा एक जना अग्रेज गुरुबाबु, जसलाई सी.डी. राईले अझ पनि मिडा साहेब भएर आदरसाथ स्मरण गर्दछन्, उनकै प्रेरणाको कारणले उनले दार्जीलिङ सेन्ट रोबर्ट माध्यमिक पाठशालामा भर्ना हुन पुगे। चन्द्रदास राईले शिक्षामा बढ़ी चासो राखेको हुनाले मिडा  वा मेडा साहेबले त्यहाँ गएर अध्ययन गर्ने  सल्लाह दिएका थे।तिन्ताक मिक्खोला गाउँमा एक शिक्षक मेडा साहेब नाउँ गरेका व्यक्तिद्वारा एक स्कूल त्यहॉं खोलिएको थियो।उनैद्वारा श्री राई पढ़न लेख्नमा खूबै उत्साही बनेका थिए।पछि सन् 1945मा दार्जीलिङ, सेन्ट रोबर्ट पाठशालाबाट माध्यमिक ऊतीर्ण भएर सन् 1953मा दार्जीलिङ सरकारी महाविद्यालयबाट स्नातकोत्तर(एम.ए.) सन् 1956 मा पास गरे।सो समयमा सिक्किमका अधिकांश अहिलेका वरिष्ठ नौकरशाहीहरू लगायत पूर्व नोकारशाही, पूर्व मुख्य सचिव पी.के. प्रधान, पूर्व सासंद् तथा पूर्व सचिव सिक्किम सरकार पी.टी.ग्याम्छो, अतिरिक्त मुख्य सचिव, कर्मा ग्याछो, पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारी आदिले दार्जीलिङबाट नै अध्ययन गरेर अघि बढ्ने अवसर पाएर सिक्किमको शासन पनि गरेका थिए, जसमा चन्द्रदास राई पनि सामेल थिए।

दार्जीलिङमा रहँदा नै उनले त्यहाँ खाद्य विभागमा नोकरी गर्न थालेका थिए तर पछि उनी राजनीतिमा पदार्पण गरे।जय प्रकाश नारायणको संसर्गमा आएर उनले भारतीय स्तरको राजनीतिक दलमा शिक्षा दीक्षा पाए तथा राजनीतिमा धेरै अनुभव बटुले।

पछि सिक्किममा आएर उनले यता नै सरकारी जागीर प्रारम्भ गरेका थिए।सन् 1950 सम्म सिक्किमा कानून स्नातक तहसम्म अध्ययन गरेका प्रार्थीहरू थिएनन्, त्यस्तो स्थितिमा श्री चन्द्रदास राई सिक्किम सरकारमा सहायक न्यायाधिशको पदभार ग्रहण गर्नु पर्ने भयो।सन् 1956मा सरकारले उनलाई सरकारी सेवामा नियुक्ति गरेपछि 6 महीनाको कानूनी तालिम गर्ने आदेश दियो। सो कानून तालिम सके पश्चात् नागरिक(सिविल) अनि आपराधिक(क्रिमिनल) दुवै पदभार देखरेख गर्न प्रारम्भ गरेका थिए।चन्द्रदास राईलाई साहित्य, समाज सेवासित राजनीतिक क्रियाकलाप गर्ने ठूलो आकाँक्षा थियो।यसैले सिक्किम आएर असल सरकारी जागीर प्राप्त गरेपनि उनी त्यहाँ टिकिरहनु मानेनन्. चारवर्षसम्म सरकारको सेवा गरेपछि त्यहाँबाट राजीनामा दिएर उनले फेरि राजनैतिक जीवनमा प्रवेश गरे।

समाज सेवा, साहित्य र राजनीतिले उनको जीवनको आशा, आकांक्षा र सपना रंगिएको थियो।यसैले विद्यार्थीकालमा नै उनी सामाजिक कार्यमा अघि बढ़े, जसमा दार्जीलिङमा हुँदा प्राकृतिक प्रकोपमा परेर अग्निकाण्ड र भल पैह्रोले क्षतिग्रस्त मान्छेहरूमा सहायता पुर्‍याउन आफ्ना विद्यार्थीह साथीहरूलाई लगेर सहयोग पुर्‍याउनु उनी गएका थिए। सन् 1946मा पश्चिम बंगालमा मुश्लिम लीगको घोषणामा हिन्दु र मुश्लिमबीच साम्प्रदायिक विवादको फलस्वरूप धेरै मानिसहरूले ज्यान गुमाइरहेको बेला दार्जीलिङ जिल्लाको सामाजिक पार्टीको सचिव रहेर श्री लोक नायक जय प्रकाश नारायणको अगुवाईमा तत्क्षणै सइदपुर रिलिफ कमिटि गठन गरी श्री राई आफै गएर पीड़ित मानिसहरूलाई लुगा तथा पैसा वितरण गरेका थिए।त्यस समयमा समाचार-पत्रमा यस्ता कुराहरू प्रकाशमा आउने नहुनाले तथा तस्बीर खिच्ने उति प्रचलन नभएकोले यस्ता समाज सेवाका कार्यहरूबारे प्रमाणित रुपमा आज उनीसित केही नभए तापनि त्यसबेलाका सम्झना र राजनीतिक हस्तीहरू र सामाजिक कार्यकर्ताहरूसितको तीतो मीठो अनुभवहरू आज पनि यस पंक्तिकारसित भेट हुँदा व्यक्त गर्नु राई चुक्दैनन्।

सन् 1950मा कलेजको विद्यार्थी छँदा घनघोर बादलको विस्फोटले दार्जीलिङका थुप्रै ठाउँहरूमा पैह्रो गएर बाटाहरू भत्किएका थिए।त्यतिखेर पनि सबै विद्यार्थीवर्गलाई लिएर बाटाहरू सफा गर्ने काममा उनी जुटेका थिए।आपत्तिमा परेका मानिसहरूलाई उद्धार गरे तथा खाद्य सामग्रीहरू पनि आफ्नै हातले वितरण गरे।रुपियॉं पैसाद्वारा पनि सहयोग पुराए।यसरी नै विद्यार्थीकालबाटै सामाजिक क्रियाकलापमा भाग लिदै आइरहेका श्री सी.डी. सर एक लगनशील व्यक्ति पनि हुनुहुन्छ।84 ववर्षको लामो आयू पार गरेर पनि उहॉं अझ सक्रिय र सबल छन् तथा आज पनि उनी सामाजिक कार्यहरूमा संलग्न छन् तथा प्रेस क्लब अफ सिक्किमका प्रमुख सल्लाहकार छन् तथा सभा, समारोहतिर उनी उपस्थित रहने क्रम जारी छ।

राजनीति बाहेक उनको साहित्य एवं पत्रकारिता पनि गहिरो चासो रहेको छ। उनले सन् 1946 मा स्थापित अपतन साहित्य परिषदमा पनि भाग लिएर कविताहरू वाचन गर्थे भने उनले त्यस समयका पत्रिकाहरूतिर कविता, कथाहरू पनि यदाकदा लेख्ने गरेका थिए।

यसरी नै उनी सन् 1960देखि पत्रकारिताको भार सम्हाल्न पुगे। कलकत्ताबाट मुख्य सम्पादक स्व. तुषार कान्ति घोषको सम्पादनमा प्रकाशित हुने अंग्रेजी दैनिक समाचार पत्र अमृता बजार पत्रिकाको उनी सिक्किम सम्वाददाता रहेका थिए।उनले केही कालसम्म यस पत्रिकासित संगलग्न रहेर फेरि सरकारी सेवा गरेका थिए।

 

 

पत्रकारिता पेशा सायद राजनीति र साहित्य जीवनको एउटा पाटो सम्झेर हुन्,सन् 1983मा सरकारी सेवाबाट सेवानिवृत भएपछि फेरि उनी पत्रकारिताकै पेशामा लागि परे तथा हालसम्म उनी पत्रकारितासित नै जोड़िएका छन्, तथा लेखक र पत्रकार कहिले रिटायर हुँदैनन् वा अवकाश लिंदैनन् भन्न कुरालाई उनले सावित गराएर देखाएका छन्। उनी अंग्रेजी साप्ताहिक -सिक्किम एक्सप्रेस समाचार-पत्रको निम्ति स्व. राम पात्रोलाई हात बढ़ाउने काममा जुट्नु भएर स्व. पात्रोको देखरेखमा नेपाली साप्ताहिक हिमालीबेला-को सम्पादकको कार्यभार निभाउन थाले जुन कार्यभार सन् 1990देखि लिएर सन् 1994 सम्म निर्वाह गरे भने आज पनि सिक्किम एक्सप्रेस दैनिकको एक स्तम्भमी सी.डी. राईको कलमले निरन्तर गति र दिशा दिइरहेको छ,यो गर्वको विषय हो।

 राईले सन् 1994देखि नै गान्तोक टाइम्स- अंग्रेजी साप्ताहिकलाई सम्पादन र प्रकाशन गर्दै आइरहेका थिए, जुन केही सालपछि कारणवश बन्द रह्यो। सी.डी.राईको नेपाली र अंग्रेजी दुवै भाषामा राम्रो दखल रहेको छ।

उनको राजनैतिक जीवनको एक पाटो पनि खूबै रमाइलो छ। उनी दार्जीलिङ हुँदाको पुराना राजनीतिक प्रतिद्वन्द्वी तथा सुप्रिय नामहरू अझ पनि उनले याद गर्दछन्। अखिल भारतीय कांग्रेस आईको एकपल्ट महासचिव रहिसकेका थियोडर मनेनको नाम उनले आदरसित अझ पनि लिन्छन् भने गोर्खालीगका डम्बर सिंह गुरुङ, शिवकुमार राई, कालेबुङका उनको गुरू गणेशलाल सुब्बा आदि उनको स्मरणमा अझ ताजा छ।

उनी दार्जीलिङको चोक बजारमा हुने भाषण खूबै चासो मानेर सुन्ने गर्थे।दार्जीलिङमा विद्यार्थी छँदा नेताहरूको भाषणहरूबाट धेरै मात्रामा प्रभावित भएका राईले जनाउँछन्। त्यतिबेला चलिरहेको भारतमा स्वतंत्रता संग्राम र सिक्किममा पनि प्रजातंत्र आउनुपर्छ भन्ने प्रासङ्गिक कुराहरूमा भित्र भित्रै आन्दोलित हुनेहरूमा  राई पनि एकजना व्यक्ति थिए।आज पनि कतिपय गाउँघरमा बुढश्रापाकाहरूले  राईमा  त्यससमयका विद्यमान नेताहरूमा हुनुपर्ने जोशिला, दूरदर्शी, निष्पक्ष एवं निडर प्रकृतिका युवा नेता रहेको गुणहरूको प्रशंसा गर्छन् भने सिक्किममा प्रजातान्त्र ल्याउन र कालो भारी, घरधुरी र झार्लाङ्गी हटाउनुमा ठूलो योगदान रहेको कुरो गर्दछन्। सिक्किमको राजनीतिक इतिहासमा उनले निर्वाह गरेको सो महत्वपूर्ण योगदान अविस्मरणीय रहेको छ।

आफ्नो राजनीतिक जीवनको प्रारम्भ दार्जीलिङबाट नै भएको जनाउँदै राईले आफू सर्वप्रथम सन् 1946 सालमा लोकनायक जय प्रकाश नारायणको नेतृत्वमा चलेको कंग्रेस सोसलिस्ट पार्टीमा नाम दर्ता गराउनु पुगेको बताउँछन्। त्यसबेला कंग्रेस सोसलिस्ट पार्टीको दार्जीलिङ एकाईमा मूल-सचिव पदमा उनी रहेर कार्य गर्न थालेका थिए।सो  समय उनी कानपुरमा आयोजित कंग्रेस सोसलिस्ट पार्टीको वार्षिक अधिवेशनमा पश्चिम बंगालको एकाइको प्रतिनिधि मण्डलको सदस्यको रूपमा भाग लिन गए। सौभाग्यले गर्दा उनले त्यसबेला भारतका वरिष्ठ नेताहरू जस्तै जय प्रकाश नारायण, आचार्य नरेन्द्रदेव, अशोक मेहता, अच्युत वर्धन, अरूण असफा अलि, डा. राममनोहर लोहिया, नेपालका पूर्व प्रधानमन्त्री बी.पी. कोइराला र अन्य धेरै लोकप्रिय सोसलिस्ट नेताहरूसित अधिवेशनमा भेट गर्ने सुयोग पाए। त्यस अधिवेशनपछि मनमा धेरै राजनीतिक उथुलपुथुल र विचारधाराहरू पुगेर आफ्नो मातृभूमी सिक्किम  भारत स्वाधीन भएको लगतै पछि फर्के।दिसम्बर 7, 1946मा टासी छिरिङको अध्यक्षतामा बसेको सभाले सिक्किम स्टेट कंग्रेस नामक पार्टी गठन गर्दा चन्द्रदास राई  सभामा विशेषरुपले उपस्थित  रहेर उनलाई समर्थन र बल दिएका थिए।सन् 1948मा टासी छिरिङ र श्री चन्द्रदास राईले तात्कालीन प्रधानमंत्री पण्डित जवाहरलाल नेहरूलाई भेटेर स्टेट कंग्रेसका तीन सूत्री माग पेश गर्नु भएको थियो।यसका साथै नेहरूबाट पनि आश्वासन पाएपछि सिक्किममा एउटा प्रजातांत्रिक ढॉंचाको सरकार गठन गर्नका लागि सिक्किम स्टेट कंग्रेसले सिक्किम-व्यापी राजनैतिक आन्दोलन शुरू गरे। फलस्वरूप सन् 1949-को मई महिनामा अन्तरिम सरकार पनि गठन भयो। अन्तरिम सरकारमा मुख्यमंत्री टासी छिरिङ थिए भने  चन्द्रदास राई शिक्षा र यातायात विभागका मंत्री थिए, तर त्यसबेलाको दरवार र भारत सरकारमाझ वार्ता भएपछि 9 मई 1949मा गठन भएको यो अन्तरिम सरकार केवल 29 दिनसम्म मात्र रहेर 6 जून 1949का दिन भंग भएको थियो।सरकार भंग गर्न अघि भारतको राजनीतिक अधिकारीले अहिलेको राजभवनमा सबै मन्त्री परिषद्लाई बोलाएर मन्त्री परिषद् भंग भएको कुरा उठी उठी सुनाए।त्यसबेला कोहो नबोल्दा सी.डी.राईले भंग भएको कारण र लिखित पत्र छ भनेर सोधेका थिए। त्यो पनि लेखेर दिने कुरा गरेपछि मन्त्री परिषद् फर्केका थिए।प्रमाणको रुपमा त्यो कागज पनि उनीसित अहिले नरहेको जनाए तर त्यसबेलाको मन्त्री परिषद्को फोटो अझ पनि उनीसित रहेको छ।

 चन्द्रदास राई र अन्य अग्रणी नेताहरूकै साँचो प्रयासको कारण सिक्किममा जमिन्दारी प्रथा, झार्लाङ्गी, कालो भारी, कुरुवा, बेठी जस्ता कुप्रथाहरू सदाको लागि सिक्किमको भूमीबाट हटेर गएको इतिहासमा अङ्कित छ। सन् 1960मा सिक्किम साधारणमा चुनाउ हुँदा श्री चन्द्रदास राई दक्षिणह्नपश्चिम निर्वाचन क्षेत्रबाट निर्वाचित भई सिक्किम काउन्सिलमा एकजना विपक्षी दलका काउन्सिलर भएर बसेका थिए।

राईले अझ पनि सिक्किममा पत्रकारिता र राजनीतिको असल भूमिका कायम होस् भन्ने चाहन्छन्।उनले दार्जीलिङबाट नै बिहे गरेर सिक्किममा आफ्नो असल परिवार र एक शिक्षित परिवारको नमूना पनि पेश गरिसकेका छन्। उनकी श्रीमती जी.डी. राई जो देउराली माध्यमिक पाठशालाकी प्रधान अध्यापिका हुन्, उनले पनि सिक्किममा शिक्षा प्रचार गर्नमा महत् भूमिका निर्वाह गरेकीले भारत सरकारबाट शिक्षक पुरस्कार प्राप्त गरी अहिले अवकाशको जीवन बिताइरहेका छन् भने आफ्नो जीवनकालमा महिला सल्लाहकार परिषद्को चेयरम्यान पद् पनि सम्हाल्न पुगिन्।उनको ज्येष्ठ पुत्र प्रेमदास राई ख़ड्कपुरबाट सिक्किममा पहिलो एमबीए गर्ने व्यक्ति हुन्, जसले सिक्किममा पहिलोचोटि कम्प्युटर बसालेका थिए तथा कम्प्युटरको शिक्षा प्रदान गरेका थिए।उनी अहिले सिक्किमबाट लोकसभा सांसद् रहेका छन्।उनको अर्को पुत्र निर्मलदास राई पनि एक परिचित अभियन्ता सिक्किम सरकारमा सेवारत् छन् भने उनको एउटै पुत्री अरुणा राई कोलकत्तामा डाक्टर रहेका छन्। उनको नाति नितिन अमेरिकाको एक नामी विश्वविद्यालयमा अहिले स्तानकोत्तरको शिक्षा आर्जन गरिरहेका छन् भने नातिनी जुनेली राई शिक्षा आर्जन गरेर सिङ्गापुरमा एक नामी बहुराष्ट्रीय कम्पनीमा कार्यरत् छन्।आफ्नो विचार सकारात्मक राख्नु र भोजन असल र सन्तुलित ग्रहण गर्नु तथा हिडडुल गर्नु, अध्ययन गर्नु आदिले नै दीर्घायूको मुख्य कारण बताउनु हुन्छ श्री राई।

चन्द्रदास राई अझ पनि सिक्किमको समाजमा एक उदाहरणीय र स्तुत्य व्यक्ति हुन्।हामीले यस्ता व्यक्तित्वलाई समाजमा सदैव सम्मान गर्नु सक्नुपर्छ।यही नै हाम्रो सभ्य संस्कार हुनछ।

       
sikkim news darjeeling news indian gorkhas     Himgiri Nepali home