sikkim news darjeeling news indian gorkhas      Himgiri Nepali home     कमला आँसुका लघु कथाहरू

       

 

सेतो गुलाफ

                                       -कमला आँसु

निशा आलोकका लुगाहरु अटेचीमा हाल्दैछे, उसलाई यस्तो लाग्छ- उसका हातहरूमा कुनै ताकत छैन, अनुहार भावशून्य छ। यो कस्तो विडम्बना, जुन पौधामा ऊ आफ्नो मायाको पानी लगाउँछे, हरियो बनाउँछे, छायादार बनाउँछे, जब ऊ चाहन्छे, त्यही शीतलताको कल्पनामा आँधीहरुका झोंकाहरूले उसको रंग रुपमा मात्र होइन ह्रदय समेत छताछुल्ल पारेर एउटा अनौठो अव्यक्त स्थिति सृजना गरिदिन्छ। ऊ मौनतामा आफूलाई एउटा हिँउदोको याममा फक्रिएको तर असिनाको ढोकाहरूले चकनाचुर पारेको सेतो रंगको गुलाफ सम्झन्छे। गमलामा फुलिरहेको सेतो गुलाफलाई नियालेर आफूसँग तुलना गर्छे....। कल्कलाउँदो मसिना, मसिना मुनाहरू, हरियो पातहरू साथै साना साना कॉंड़ाहरूको सुरक्षामा पलाउँदै गरेको कोपिलालाई जति हेर्दा पनि उसलाई चित्त बुझ्दैन... यो ठूलो फक्रिएको गुलाबलाई यसरी असिनाले किन चकनाचुर पार्‍यो अनि कलिलो कोपिलालाई किन असिनाले भेटेन? यो बोटै उखाली दिउँ त नयॉं कोपिला आउंदैछ..।. ऊ बरन्डामा त्यो सेतो गुलाबलाई असिनाको अत्याचार अनि कोपिलालाई सहानुभूति भएको छर्लग्ङै खुट्याउँछे....। आलोक बरन्डामा आएर बेवास्ता भनिपठाउँछ.... मेरो सामानहरू तयारी गरिदियौ? म बाह्र बजे जान्छु..। कति त्यो असिनाले कुटेको सेतो गुलाबलाई मुसारेको.... फ्यॉंकिदेऊ त्यस्तो नाथे...फेरि अर्को कोपिला लागेर फुल्छ.... मलाई त त्यो पहेंलो रंगको स्नोबल गदवरी साह्रै मनपर्छ... आलोक ठूलो गुजुमुजे गदवारीलाई देखाउँदै निशालाई भन्छ।

-यो फुलेको सेतो गुलाफलाई फ्यॉंक्दा त त्यो कोपिलालाई सिधै धक्का पर्छ त....तपाईले कस्तो कुरा गर्नु भएको...।
आलोक निशाको भावनाको गहिराईमा पुग्न नसकी भित्र रूममा पुगेर सिग्रेट सल्काएर धूवॉं उड़ाउन थाल्छ....।गुलाफको गमला बिस्तारै उठाएर निशा आलोक भएकोमा पुग्छे अनि मलिन स्वरमा बोल्छे-हेर्नु हवस् त नितुको बुबा, हिज बेलुकी यो गमलालाई तपाईले सिटिङ रूममा सारिदिनु भएको भए यो निकै दिन रहने थियो, असिनाको चोट खानु पर्ने थिएन। आलोक लगातार सिगरेटको धूँवा फ्याक्दै हुन्छ अनि दिक्क भएको अनुहार पार्दै भन्छ- निश,ा फूलको माया बेसी नगर, मलाई जानु अबेर भइसक्यो....।
चकनाचुर भएको हृदयलाई जोड्न खोज्दै नियास्रो अनुहारमा हॉंसो देखाउने प्रयत्न गर्दै निशा मलिन स्वरमा बोल्छे- जाने बेलामा एक कप दूध त पिएर जानु हवस्। दूधको प्याला आलोकको हातमा थमाएर निशा भन्छे।

छोरी नितु दगुर्दै आएर पापालाई सोध्छे -पापा कहॉं जानु हुन्छ, म र आमा पनि जाने तपाईसंगै हामीलाई पनि घुमाउनु लानु हवस न.... निशा छोरीको हातमा समाउँदै -पापा काम विषय जानु भएको, त्यसरी पछ्याउनु हुँदैन।

आलोक घरबाट निस्किसकेको हुन्छ....पलंगमा बसेर नितुलाई च्याप्प समातेर निशा जुरुक्क उठेर बाहिर बरन्डामा उभिएर त्यही सेतो गुलाबलाई नियाल्छे, चालै नपाई आँखामा आँसुका धाराहरू छुटिसकेका हुन्छन्....। आमा तपाईं रूनु हुन्छ भने म पापालाई पछ्याउदिनँ।बाहिर बगानमा माली मालिनीले फूलहरुमा पानी लगाउँदै छन्... ऊ त्यत्तिकै अस्त-व्यस्त अवस्थामा नितुलाई दोहो-याउँदै बंगलोबाट बाहिर हरियो चौरको हरियालीमा आकर्षित भएर निस्कन्छे।बाहिर पहरा दिइरहेका सिपाहीहरू सतर्क भएर स्यालुट मार्छन्।निशा स्यालुटको वास्ता नगरी क्षणैमा बगानमा पुग्छे...मालीहरू अत्तालिएर झिन्झरी राखेर नमस्कार गर्छन्।पर बूढ़ी मालिनी फुलिसकेका गदवरीका बोटहरू मिलाउँदै हुन्छ।मेम साइब देखेर ऊ अझ फूर्तिलो भएर काम गर्न लाग्छे।निशा मालिनीको छेउमा गएर प्रश्न गर्छे-दिदी यो गदवरीको झ्याङ किन पहेंलो भएछ।मालिनीले भन्छ- फुलिसक्यो, अब पहेंलिन्छ....अब यी गदवरीको फूलिसकेका बोटहरूलाई ओझल पार्ने जग्गामा राखेर पानी लगाइरहनु पर्छ...त्यसपछि झ्याङमुनिबाट नयॉं पालुवाहरू पलाउँछ अनि त्यसैलाई कटिङ्ग गरेर अर्को सालको लागि बिरूवा तयार हुन्छ ।पानी लाउनु छोड़नु हुँदैन।
निशा छोरीलाई हातमा समातेर पर पर चौरको हरियाली निहार्दै भावुक भएर सोच्छे-प्रत्येक पालुवा, फूल फललाई फुल्नको लागि स्याहार चाहिने रहेछ, खोई मेरो जिन्दगीलाई स्याहार गरिदिने त कोही छैन र पनि म यसरी बॉंच्दैछु।
आलोक अहिले शहरको पॉंच सितारा होटलमा एयरकन्डीसन कोठामा अनितासंग विदेशी मदीराको घुट्कोमा जीवनको रंगीन कल्पनाहरूमा छ। न अहिले उसलाई स्वास्नीको याद छ, न त छोरीको याद छ, न त कुनै समस्याहरूको । अनिताका सुकोमल हातहरू सुम्सुमआउँदै आलोक मद्होश भइरहन्छ..। अनिता प्याउलिएर भन्दै हुन्छ मलाई यसपालिको जन्मदिवसमा के उपहार दिनु हुन्छ ?
आलोक झट्ट भन्छ सेतो गुलाफ।
अनिता चिच्याई पर सरेर भन्छ-मलाई त्यस्तो उपहार चाहिन्दैन मलाई यसपालि हिराको हार चाहिन्छ।
आलोक अत्तालिएर चर्को आवाजमा बोली पठाउँछ- जत्ति बहुमूल्य उपहार थियो, मैले तिमीलाई पैसा रूपियॉं, मारूति, फ्ल्याट दिइसकें मसित पैसा छैन।
-पैसा छैन भने मलाई किन यस्तो पॉंच सितारा होटलमा राख्नु हुन्छ?
-कारण म तिमीलाई प्रेम गर्छु।
होइन, होइन तपाईले मलाई प्रेम गर्नुहुन्छ भने मलाई विवाह गर्नु हवस, तपाईको बंगलोमा लगेर मेम साहेब बनाएर राख्नु हवस, यसरी राखेर मात्र कसरी हुन्छ?
आलोक छक्क परेर सिग्रेट तान्न थाल्छ....अनिता रातो डायरी खोलेर लेख्न थाल्छे। सिग्रेटको लगातार तनाईले आलोक थाकिसकेको हुन्छ तर उसलाई कता-कता के के तृष्णाले पोलिरहेको हुन्छ.... डायरी लेकिसकेर ढ्याप्प डायरी बन्द गरेर, अनिता रित्तिएको गिलासमा पुन:मदिरा थप्दै भन्छे कस्तो लिनु हुन्छ र कि पानी मिसाएको? रअ नै असल होइन? चिकन रोष्टको अर्डर गर्नु हवस न...सिथन पनि चाहिन्छ यसो तपाईको मुड हेर्दा आज पिउने रात हो जस्तो लाग्यो....भावशून्य भएर उभिन्छे।

 आलोक शब्द विहीन मौन भएर अनितालाई नियाली बस्छ...बुद्धि र विवेक शून्य उ..।पढ़ेकी केटी..।काम गर्ने केटी...तर आज होटलको कोठाभित्र आफ्नो नैतिकतालाई बिर्सिएर आफ्नै बससँग यसरी यौवन बर्बाद गर्दैछे...आलोकलाई आफ्नी धर्म पत्नीका विचारहरूले मनमा कुतकुती लगाउन थाल्छ- सेतो गुलाफको गमलालाई भित्र राखिदिनु भएको भए पानीले अलपत्र पार्ने थिएन, अलिकति दूध पिएर जानु हवस् कुराहरू सोंच्दा सोच्दै आलोक जुरूक्क उठेर अटैची तयार गर्न थाल्छ। अनिता चिकनरोष्टमा मख्ख परिरहेको हुन्छ। बेरालाई बोलाएर हतारिएको स्वरमा आलोकले भन्छ - छिटो बिल ल्याऊ। बेरा छक्क परेर भन्छ- सर रातको बाह्र बजे होइन?

-मलाई भोलि घर पुग्नुछ?

-हुन्छ सर भनेर बेरा निस्कन्छ। आलोक गम्भीर भएर बोल्दै हुन्छ-अनिता तिम्रो दिवसमा म हिराको हार उपहार दिन्छु अब हामी जानुपर्छ अनिता छक्क पर्छे। होटलको बिल तिरेर तिनीहरू निस्कछन्। आलोक नैराश्यपूर्ण हिँड़दैछ अनि अनिता छक्क परेर अहिले आलोक अत्यन्त गम्भीर देखिन्छ, हल्कासँग इस्टेरिङ चलाउँदै भन्दै हुन्छ-अनिता मलाई एकपल्ट सेतो गुलाफ राम्रो फक्रिएको केही सुनगाभाका पटहरू फुल्न लागेका अनि ग्लेडी, सिनीरिया चाहिएको छ....कहॉं पाउँछ?
-पैसो पो नपाउनु सर, संसारमा पैसा भए के थोक पाउँदैन र?
-पैसाले आत्म विश्वास र आत्म सन्तुष्टि पाउन सकिन्छ अनिता?आलोक जल्दै गरेको सिगरेट फ्यॉंक्दै अनितालाई दृष्टिगोचर गर्छ अनिता शिरनत् गरेर लजाउँदै नङ्ग टोक्छे....।

-भयो यस्तो कुरा छाड़ौं फूल कहॉं पाउछ? त्यो पत्तो लगाउन ध्याच्च जिप्सी रोकेर आलोकले भन्छ। अनिता सुरिलो आवाज भरि बोल्छे, म फूलको लाइनमा गएर लिएर आउँछु सर....।
-होइन म आफै चुनेर हेरेर ल्याउँछु, दुवै फूल बेचे लाइनमा जान्छन्, किसिम किसिमका गुलाफ फूलेका गमलाहरू सुनगाभा, साईकल म्यान, सिनीरीया ढकमकक फुलेको देखेर आलोक प्रफुल्लित हुन्छ अनि कता कता उसको छात्तीमा च्वॉंस-च्वॉंस घोचेको जस्तो अनुभव हुन्छ। अनि कोटको भित्र पाकेटमा हात घुसार्दै फूलवाल्नीलाई भन्छ बहिनी यो सेतो गुलाफ सुनगाभा अन्य अरू सबै मिलाएर दश पट गाड़ीमा लगाइदिनु हवस्। त्यसपछि पैसा तिरेर तिनीहरू आलोकको घरमा प्रस्थान हुन्छन्, बाहिर पार्कमा माली-मालिनीहरू फूल गोड़नमा मस्त हुन्छन्। साहेबको गाड़ी अनि हर्न सुनेर सबै जना केही सर्तक हुन्छन्।कान्छा आएर गाड़ीबाट गमलाहरू झार्छ।आलोक भूईको सेतो गुलाफको पट हातमा उठाउन थाल्छ। कान्छा अत्तालिएर गमला समात्न पुग्छ, आलोक धीमा स्वरमा बोल्छ-तिम्रो मेमसाहेबको मनपर्ने सेतो गुलाफ आज म नै उसलाई उपहार दिन्छु।

अनिता मौन भएर उभिरहेकी हुन्छे।तिमी अर्को गाड़ीमा घर जानु भन्ने संकेत पाएर तीन छक्क पर्छे। आलोक गुलाफको पट बोकेर बंगलोतर्फ लाग्छ।बाहिर पहरा दिइरहेको अर्दली पनि स्यालुट ठोक्दै अचम्भित भएर त्यो अनौठो दृश्य हेरिरहन्छ। बंगलोभित्र पसेर बेल पुस गर्ने साथ, निशा पूजा कोठाबाट निस्कन्छे।

-निशा आज बिहीबार विवाहको 20 वर्ष पुगेको दिन जनवरी 28 तारीक तिमीलाई मेरो आशीर्वाद, आत्मसन्तुष्टि अनि विश्वासका साथमा यो तुच्छ उपहार सेतो गुलाफ।आजसम्म तिमीलाई धर्मपत्नी बनाएर मैले तिमीलाई त्रास, बेदना र मौनता दिएँ-यसमा म साह्रै लज्जित छु, अब मलाई यो सेतो गुलाफ स्वीकार गरेर जस्तो सजाय दिन्छौ, त्यो मेरो सॉंचो जिन्दगी हो....।

निशा चुपचाप त्यो गमला थापेर आलोकको खुट्टामा ढोग्न पुग्छे...। अनि भावुक भएर भन्दै हुन्छे...यो सेतो गुलाफलाई आँधी हुरीदेखि बचाउँनु पर्छ, नत्र झरी जान्छ।आलोक मलाई डर लाग्छ तर मलाई सेतो गुलाफ साह्रै मन पर्छ। यो त सबै फुलिसकेको रहेछ अलिक रंग पनि उड़ेछ कति दिन रहन्छ होला नि ?

आलोक भए भरको मायाले निशालाई आफ्नो चौड़ादार छात्तीमा टँसाएर भन्दै हुन्छ- मेरो सेतो गुलाफ तिमीलाई म अब जोगाएर राख्नेछु।

 

खोसिएको सिन्दुर पोते

-कमला आँसु

(लघु कथा)

 

बिनाले भन्छे-तिम्रा लघु कथाहरू साह्रै राम्रो लाग्छ, रेडियोबाट पनि सुनें.....।कसरी लेख्छौ त्यस्ता राम्रा कताहरू...पक्का अनुभवी भएर? भनन? पोस्टीकमा काफी पिएर हामी दुइ गफ गरेको पनि लेख ल? तिम्रा कथाहरू पढ़ेर, तिम्रो माया लाग्छ मलाई त। गेजिङमा हुँदै पनि तिम्रो साह्रै याद आइरहन्थ्यो।

बिनू, कथा लेखेर त मेरा मर्काहरू शान्त हुने होइन, कथा लेख्नै नसक्ने पीरहरू थाक्थाक् छन् मभित्र। न म कसैलाई भन्न सक्छु, न म कसैलाई सहायता माग्न सक्छु...कथा नलेखौं भन्छु, किन हो आफै कथाका तॉंतीहरू आइहाल्छन्- म साह्रै दुखिया छु बिनू।

-अन्त तिम्रो हाल कस्तो छ? नानीहरू स्कूल जॉंदै होलान्। अहिलेका लोग्ने कस्ता छन्?झगड़ा गर्नु हुन्छ?

-झगड़ा मात्रै होइन, हेरन अस्ति आँखा झण्डै फुटाइदियो....। पहिला पट्टिका नानीहरू साथीकोमा राखेकी छु। अब बस्दिनँ होला उसँग पनि।

-बिनू, तिमी एकदमै गल्ती बोल्दैछौ, एकदेखि दुई, दुइदेखि तीन हुनु नारीहरू आफैलाई पीर-मर्काको कुवामा डुबाउनु सिवाय केही होइन। आफू सुन्दरी छु भनेर हजार लोग्ने मान्छेहरूसँग प्रेम नाटक गर्नु एकदेखि दुइ हुनु स्वयं भुस् भएर उड़नु मात्र...। स्वास्नीको सुन्दरताको कायम केवल लोग्नेले मात्रै गर्नु सक्छ...चाहे त्यो सुन्दर नहोस् र पनि सुन्दर बनाएर राख्न सक्छ।तर यसमा नारीको पनि त्याग र बलिदान हुनपर्छ। हामी नारी, हामीले स्वतन्त्रताको पछाड़ि जति उपलब्धि पाएर पनि हामी एउटा सहनशीलताको पहाड़ भएर खड़ा भइदिनु पर्छ।

 

-चाहे जै नै होस्, पुरूष जाति (लोग्ने)-सँग हामीले टक्कर लिन सक्दैनौ बिनू। सक्छौ पनि कसरी ? एउटा भँमराको सामु गुलाब, एउटा पत्थरको सामु मोम। लोग्ने बदली गरेर हामीले शान्ति कसरी पाउने? आजादीको पछि हामीले पाएका अधिकार साथै स्वर्गीय श्रीमती इन्दिरा गॉंन्धीले दिलाइदिनु भएको हामी नारीप्रतिका उपलब्धिहरू हामीले हासिल गरेको यहि हो? लोग्नेसँग छुटनाम, झगड़ा इत्यादि। हामीले यी सब गरेर आफूले आफैलाई कमजोर र बदनामको सीमातिर लखेट्दैछौं।

-बिनू, तिम्रो काम-दाम छ, आफ्ना खुट्टामा उभिएर बॉंच। हजार सादा पन्नाहरू छन्, लेखिदेऊ भुक्तभोगी भएर त्यस्तो कथा जुन कथा पढ़ेर हामी जस्तै केही गर्न नसकेका नारीहरू जो समाजमा लोग्नेदेखि थिचिएर पगली सरह भएका छन् उनीहरूलाई प्रेरणा मिलोस्।

-तिम्रो लोग्नेले तिमीलाई घरबाट निकाली दिएर, कान्छी ल्याएर पनि तिम्रो यस्तो सिद्धान्त?

-होइन बिनू, यसमा नारीको ठूलो गल्ती छ। मेरो एउटा सुक्खा रोटी खोस्न सौता किन पसी? जत्ति पीर मभित्रै छ म के गर्नु र? दुइचोटि विवाह गर्न सक्दिनँ म, कहिँ जानु पनि सक्त्तिनँ।

 -जे गरे पनि गर। तर त्यो कान्छीको धनी लोग्नेको सिन्दुर-पोते, त्यागिदेऊ।

-बिनू,जीवनमा सबभन्दा प्रिय बस्तु विवाहित स्त्रीको लागि सिन्दुर-पोते हो, म मेरो लोग्नेको लागि पहिलो अनि सच्चा पत्नी छु, जसलाई कदर गरेकी हुँ।

-कसरी कदर भयो र? तिम्री सौताले पनि तिम्रै लोग्नेको हातबाट सिन्दुर-पोते लगाएकी होइन?

-हो बिनू, लोग्ने मान्छेको हजार गोठ, तर मैले त यो सिउँदोमा कसैलाई दुइपल्ट सिन्दुर छर्ने मौका दिएकी छुइनँ साथै छरे महत्व पनि रहँदैन।

-जे भए पनि तिम्रो सिन्दुर पोते खोसियो सौता ल्याएपछि।

-बिनू त्यसो नभन प्लीज, सौताले खोसे पनि सॉंचो सिन्दुर पोते मसँग छ उसको, म सँग छ।

(अर्चना, गान्तोकमा प्रकाशित तथा सेता गुलाफ- कथा संग्रहमा प्रकाशित)

       
sikkim news darjeeling news indian gorkhas     Himgiri Nepali home