|
यौटा कविताहीन कविता
-मनप्रसाद सुब्बा
अखबारको पृष्टमा ऐना हेरेर शुरू हुन्छ उसको दिन... आधुनिक दन्त्यकथाको एक देवता ऊ रिमोट-कन्ट्रोल हातमा लिएर टी.भी. स्क्रीनको अँध्यारो शून्यमा संसार बनाउँछ बद्लाउँछ, अल्पाउँछ साबुन-पानीका फोकाहरू सानो पाइपबाट उडाउऩे खेले झैं शब्दहरू फुरूरूरू... फुकिपठाउँछ ऊ दिनभरि। उसको मुखबाजाको आरोह-अवरोहले ट्राफिक जाम गरेर दिनैपिच्छे हल्ला बजिरहन्छ चर्को स्केलेटरको आरोह-अरोहसहित उक्लिँदै ओर्लिँदै हराइसकेको आफैलाई कहिलेदेखिन्। कुन्नि को भइसकेको ऊ कहिलेदेखिन्। सुपर मार्केटको एक पसल सङ्गीतको एक एक सप्तक बज्छ उसको दाँतको की-बोर्डमा। कहिले चाहिँ खाली खोक्रो एलिभेटरमा चढेर आधुनिक देवत्वको स्काइस्क्रेपर उक्लिन्छ अनि दुइ-चार हात रमी दुइ चार पेग रक्सी र आइमाइको केही तातो नि-श्वास आह मज्जा छ उसलाई स्वचालित औंलाहरूले ताछेर साँझको घामलाई सुन्तला जस्तो केस्रा,केस्रा खाइबस्छ गफको रस निल्दै। करेन्सी नोटमा छापिएको कुनै पनि चित्र हेरेर भ्यानगगको प्रशंसा गर्छ ऊ 'All that glitters is not gold' भनिवरि गर्वसाथ औल्याउँछ उसको चम्किँदो दराजतर्फ सजिल्द शेक्सपियर देखाउँदै दिनको उज्यालोलाई सधैं ऊ आफ्नो टल्किँदो हाँसोमा फिजाउँछ अनि रातको अन्धकारलाई चाहिँ ओभरकोट बनाएर ओढ्छ। यस्तो उसलाई तिमीले जहीं पनि जहिले पनि भेटेकै हुनुपर्छ न्यूयोर्क बेजिङ काठमाण्डुमा अनि कुकुर-लुतोले पिल्सिरहेको हाम्रो दार्जीलिङ पनि।
आत्माभिव्यक्ति-एउटा सिपाहीको
-वीणाश्री खरेल, गान्तोक मेरो आगमनको एकएक पललाई आफ्नै घर-आँगनमा मिलनका सपनाहरू सजाएर बसेकी तिमी खुशीका गुराँसहरू मनभरि फुलाएर पर्खेकी तिमी, मायाका उन्मादमा बसन्ती भएर मात्तिएकी तिमी मेरो नआउने खबर पाउँदा, मरे तुल्य भयौ होला तिमी प्रिय। बन्दुकमा बाँधिएको मान्छे परें म, समय त्यस्तै प-यो- यस पटक आउन सकिनँ मलाई क्षमा गर। सुरक्षित किल्लाहरूमा बसेर बिहानको रक्तिम सूर्य तिम्रो सिउँदोभरि छरिएको देख्छु घढीको सुइ र बिगुलको ध्वनिसंगै ब्युँझेर चियाको लाइऩमा उभिन्दा तिम्रो चुराको आवाज सुन्छु झझल्कोले मुटु दुख्दा मन भित्रभित्रै रून्छु। धूँवा-धूलो र बारूदमा मृत्युका गन्धहरूमा बसेर युद्ध-मोर्चाबाट म यो पत्र लेख्दैछु यद्यपि कर्त्तव्यको वेदीमा पोलिएर तिमीलाई उज्यालो दिँदैछु। प्रिय मृत्युलाई जित्छु भनेर कसम खाएको मान्छे परेम म- हुनसक्छ भोलि हार्न पनि सक्छु समय त्यस्तै प-यो यसपटक आउऩ सकिनँ मलाई क्षमा गर। हामीले रोपेका फूलहरू सप्तरंगी सपना भएर फुलेका होलान् त्यसलाई छोराको अनुहारमा हेर्नु अनि मलाई सम्झेर छात्तीमा टाँस्नु। पोखरीमा छोडिएका माछाहरूका बच्चाहरू ठूला-ठूला भए होलान्- तिनीहरूलाई आफ्नै सम्झेर माया गर्नु अझ पोखरीलाई तलाउ बनाएर पौडिनु दिनु। दशैं गयो-तिहार गयो ल्होसर र सारा चाड् पर्व गयो देशभित्रै परेदशी छु म म नआउने खबरले तिनीहरू सबैसबै विक्षिप्त होलान् म पति त एंठन परेको छु, प्रिय। आफ्नै महत्वकांक्षामा- केदै भएको मान्छे परें म- यसपटक यस्तै भयो तिमीलाई भेट्न आउऩ सकिनँ मलाई क्षमा गर। मलाई थाहा छ-घर चुहिने भएको छ, जब विछोड् वेदना र अभाव नै चर्किएको छाना भएको छ। मायाको सिमेन्टले टाल्छु भनेको थिएँ यसपटक यस्तै प-यो- आफ्नो लागि नै बाँच्छु भनेर आएँ थाहा नै नपाई अरूको लागि बाँच्न बाँच्नु थालेको छु। आफ्नो सुरक्षा खोज्न म यहां आएँ थाहै नपाई अरूको सुरक्षामा खटिएँछु मेरो नआउने खबरले तिमी बलेंसी भएर रोयौ हिक्काभरी रोयौ सिरानीमा घोप्टिएर धेरैबेर रोयौ। प्रिय- स्वाधीन भएर पनि अरूको अधीनमा परेको मान्छे परें म। विश्वास गर कायर भएर आफ्नै खुकुरीले नाम काटेर म आउऩ सकिनँ, मलाई क्षमा गर।।
पदचिन्ह
-सुधा एम राई
अभीप्साका रेतिलो खडेरी मेरो मूर्छनाको चित्रबस्ती मौन अनि नि-शब्द
आखिर, तिमी आयौ अनवरत मरूभूमि पार गर्दै परन्तु कसैको निम्ति ह्रदयग्राही तिम्रो तृष्णाका केही बुँद ग्रहण गर्न पाऊँ तिम्रो जीवनका केही थोपाहरू यो बञ्जर छाती भिजाउन पाऊँ अनि पाऊँ मेरो नग्नतालाई ढाक्न मात्र हत्केलाभरिको वस्त्र. यद्यपि म अ़ञ्जान होइऩ तिमी स्वयम् पनि मरूभूमिमा छौ मसम्म पुग्नलाई तिमी सुस्त-सुस्त कदम बढाऊ यतातिर खडेरीका प्रखरहरू टेक्दै नजिक मेरो हृदयको नजिक त्यो जीवजल क्लान्त तिम्रो उच्छवासबाट अनायसै निचोरिएर चुहुन्छ जब मेरो शुष्क ओंठमा बञ्जर छातीमा केही दबेको नाभि हुँदै यौनाङ्गसम्म अनि उर्बर भइदिन्छ रेगिस्तान अभीप्साका रेतिलो खडेरी ए! मेरो मूर्छनाका चित्रबस्ती यसक्षण मलाई तिम्रो मौनता र नि-शब्दताबाट उठेर एउटा जवानी बाँच्न् देऊ -गान्तोक (सुधा राईले परिचित सुधा एम राईको भर्खरै पदचिन्ह नामक पुस्तकको विमोचन भएको छ।)
तीन मुक्तक -अमर बानियॉं लोहोरो
(1) कुरा: दिलभित्रको
सबै सुरूपा सुखी हुँदैनन्, सबै कुरूपा दु:खी छैनन्; यो स्थिति कस्तो अमेल! शायद सबै नियतकै खेल(?)
(2) जग- स्थिति
यो धर्ती चिन्तित छ मानवताको मायाले....... यो धर्ती पीड़ित छ दानवताको छायॉंले........!!
(3) मानवको तीन पहिचान
प्रथम प्रतीक मानवता........ दोस्रो उस्को भावुकता........ र नव- निर्माणको काल्पनिकतै......... (हिमगिरि वर्ष-21, 9 फरवरी 2005 अंक-04-बाट)
ब्रह्म मूहूर्तको अमृत बेला -कमला आँसु फूलहरूसँग रंगहरू चोरेर चन्द्रमा अनि ताराहरूसँग रोशनी सापटी मागेर कैयौं मनमोहक हावा अनि पानीहरूसँग अंकमाल गरेर लाखौं ढुङ्गा माटोहरूसँग लुकाचोरी खेलेर, पहाड़ झरना, खोला, नदीहरू, नालाहरूसँग रमाउँदै वट-वृक्ष, पोथ्रा पोथ्री हरियालीहरूमा कति नॉंचे, उफ्रिए, रमाए खुशीका अनगन्ती पलहरू विशाल प्रकृतिको न्यानो मखमली काखमा नयॉं रूप नयॉं रंगहरूसँग रंगाउँदै भावविभोर भएर बधैंचाका थुप्रै फल फूलहरू टिपे खाए, सजाए, चढाएँ मग मग वासना चलिरहेको सुनौलो विहानीमा मन्द गतिको हावासँग अंकमाल गरेर शितल पवनको मायालु सड़कको छात्तीमा सुनौलो सूर्यको लालिमाहरूसँग म निरन्तर ब्रह्ममूहूर्तमा अमृत बेलाको अपार आनन्दहरूको रस पान गर्दैछु कति सुन्दर ती पारिका दृश्यहरू तल खोला अनि बगरहरूबाट बादलका रेखाहरू कति द्रुत गतिमा गगनलाई चुम्न सफल भएको ती क्षितिजहरू कति विशाल, त्यस्तै क्षितिज विशाल स्वच्छ म म बॉंच चाहन्छु, हॉंस्न चाहन्छु गगनमा कति मज्जाले चम्किएका ती ताराहरू, चन्द्रमा पनि फेरि सिरिरि हावाको मन्द झोंकाहरूले मलाई रोम रोममा मुसारिदिन्छ म पुलकित भएर सूर्य नमस्कार गर्छु मेरो चेतना जागेको छ, स्मरण शक्ति मनन र चिन्तनको मधुर ध्वनि - मभित्र गुञ्जिरहेछ म हरियो दूबोहरूको मखमली चौरमा नांगो पाउहरू, शितको थोपाहरूमा डुबाउँदै दगुर्छु, उफ्रन्छु, रमाउँछु, अनाथलयाको परिवेशले मलाई कति मर्महात बनाएको थियो, तर मान्छेको ममता नचिनेको मनले, हावाको स्पर्श, शितको शितलता, सूर्यको अंकमाल, जूनको माधुर्य पाएको छ, सॉंच्चै कति मीठो अपार आनन्दको सागर ब्रह्ममूहूर्तको अमृत बेला!! |
केही अभिव्यक्तिहरू - मोतिसिंह छेत्री, गौहाटी। -(मोतिसिङ्ग छेत्रीज्यू अहिले 84 वसन्तमा पुगिसकेका रहेछन्, यत्रो वृद्ध अवस्थामा पनि हिमगिरिमा प्रकाशनार्थ कविता पठाएकामा, उनको सुस्वास्थ्य र दीर्घायुको कामना सहित उनको कविता प्रस्तुत छ-सम्पादक) (1) मृत्यु कति भयंकर अखण्ड सूर्यको तापझैं मान्छेमा सधैं आरोपित मृत्यु कति भयंकर आत्मा त होशियार जगमा सत्य र न्यायको लागि ज्योति फैलाउनु छ तैले। (2) कुवेरको राज रंगम्वदेखि बाहिर फालिएको यौटा फिलीङ्गो म यस धरतीको टाड़ा कुनामा नाङ्गो देह कंकाल झैं जग तप्ति सुख सागरको आशाया अतृप्तिको चितामा जलिरहेको बेला देख्दछु कुमेरको राज सुखको प्याला पिउनु यो कुवेरहरू विश्व शान्तिको नाउमा एक एक दानाको लागि छटपटाउनेहरूलाई लुटि रहेको छन् चुनौतिको बजारमा माटो र ढुंगा मिलाई प्रत्येक दाना दानामा। वर्ष-20, अप्रेल 14, 2003 सम्म अंक-14
म बलात्कृत भएको रात -सुधा एम. राई, गान्तोक
आजकल दिनप्रति दिन बढ़्दै गइरहेको आफ्नै पेट छाम्दै अन्योलताहरूसित गुम्फित त्यो क्षितिज हेर्दै म टटोलिरहेछु। म बलात्कृत भएको रात हो त्यो रात! त्यसकी स्वास्नी काखमा बच्चा च्यापी, बिनाशब्द रोइरहेकी थिई, गाउँ-शहर खिँचातानी र दङ्गा फसादले नीरवता छाएको थियो, गल्लीका प्रत्येक झ्याल-ढोका बन्द थिए- मूल सड़कको गल्लीमा खुल्लम-खुल्ला त्यसले मेरो शरीरको तन्तु-तन्तु भोकाएको सिंहले जस्तो चिथ्रा-चिथ्रा पारेका, यी नील डामहरू शरीर र मनमा गढ़ेको कसलाई र कसरी देखाउँ? जब कि- हिज शान्त्वना र शुभचिन्तकका भलादमी अनुहारहरू अर्कोतिर फर्काई मेरै छेउबाट कुलेलम् ठोकेथ्यो। त्यो रात हो त्यो रात! मेरो अचेतावस्थामा गल्लीका एक दर्जन भुस्याहा कुकुरले मेरो अस्तब्यस्त शरीरलाई सुङ्दै रात बिताएथ्यो। मान्छेले मान्छे नपालेर जन्तु पाल्ने प्रश्नका भ्रमहरू मेरो मनबाट स्वत: हटेथ्यो। यो परिवेश यो अनिच्छा, यो असमेल पेट, यो अथाह पीड़ा प्रदुषणयुक्त सम्मिश्रण वातावरणमा पुन:त्यही स्थिति दोहोर्याउने मेरो पेटमा हुर्कंदै गरेको यो पिलन्धरेनै भावी पिड़ीलाई कसरी यै उपहार भनुँ? तिनीहरूको अपेक्षालाई कसरी पदच्यूत पारुँ? अनि कसरी तिनीहरूकै पिताका म शिकार हुँ भनुँ? खोई
तिमी यसरीनै आउनु कविता!! -अर्जुन यावा सिक्किम सरकारी कलेज, तादोङ। म रुँदा यहॉं तिमी, शान्तवना दिनु नआउनू, हॉंस्दा साथ दिन पनि नआउनू, कविता! म रुँदा बरू तिमी, शीतकालीन ठिही भएर आउनू हॉंस्दा- चट्याङ भएर झस्काइउनु आउनू, अरूबेला तिमी आए, एउटा विरूवा भएर आउनू, चेतनाको, अर्धनिन्द्रा हटाएर होस र सृजनाको रॉंको बोकेर तिमी आउँदा ढाल-तरवार भएर आउनू, क्रान्तिको चेतना काट्न सक्ने चेतना लिएर अन्याय, शोषण, दमनहरूलाई निर्मूल गनूर्, कविता! तिमी आउँदा- वैचारिक क्रान्ति लिएर आउनू कल्पनाशीलताको एटम भएर आउनू संघर्षको मिसाल भएर सुटुक्क आउनू कविता! कि त तिमी आउँदा- पर्खाल भित्र र बाहिरको- आकृति भएर आउनू तर मानबीर भएर मान खोज्दै नआउनू आदर्शतामा सुकरात र गान्धी भएर पनि नआउनू बरू तिमी हिटलर भएर आउनू हो तिमी त्यसरीनै आउनू, तिमी आउँदा व्यवस्था परिवर्त्त
सिक्किम, तिमी पृथ्वीको स्वर्ग -प्रा. श्रीमती गीता निरौला, गान्तोक शिरमाथि कञ्चनजङ्घाको ताज हरित प्रकृतिको पहिरन नदीनालाका आभूषण गुम्बा र मन्दिरमा प्रस्टिएको विशाल विश्वास हृदयको सिक्किम तिमी पृथ्वीको स्वर्ग। तिम्रो लयवद्ध नॉंच छहरा र पहरामा देखिन्छ। तिम्रो सुशान्त स्वभाव यहॉंका मन्दिरहरूमा भेटिन्छ। तिमी नॉंचेकी छ्यौं चुङथाङका चौरिहरूसँगै तिमी फुलेकी छ्यौं हिले र बर्सेका गुँरासहरूसँगै तिमी हॉंसेकी छ्यौं छॉंगु र पेलिङका चुचुराहरूसँगै। इञ्चे, छोतेन, सामडुप्चे र पेमायाङचीमा बजे ग्यालिङ र घण्टाहरूमा सिक्किम तिम्रो शान्ति लुकेको छ दुइ छाक भात र मीठो निद्रा हरेकलाई जुटेको छ यहॉं। संसारले सोध्छ तिमीलाई तिम्रो शान्तिको रहस्य संसारले खोज्छ तिम्रो आकाश त्यो स्वच्छ वायु। चार जात छत्तीस वर्णमा सजिएको फूलबारी अनेकौं भाषाहरूको मनोरमा झॉंकी विश्वको अनुपम भूमि ईन्द्रकील यो महाभारतको पहाड़हरूका श्रृङ्खलामा रूकहरू प्राङ्गणमा उभिएका छन् विश्व सौन्दर्य प्रदर्शनीमा रातो पाण्डा, सुनाखरी, डॉंफे, मुनाल, छहरा-पहरा, लेक सबै सहभागी भएकाछन् टिस्टा र रंगीतले सुनाइरहेछन् विश्वलाई सिक्किम तिम्रो गौरव गाथा देशको आँखाको तारा; सिक्किम, विश्वलाई सृष्टिको सुन्दर उपहार, सिक्किम, सिक्किम, तिमी यसै गरी बॉंचिरहु सिक्किम, तिमी यसै गरि हॉंसिरहु।
अनन्त-यात्रा -विजय बान्तवा
अनन्तभित्र फेरि पनि पस्दैछु, पस्दैछु, रमाउँदैछु, घुम्दैछु, अथाह महासागर छ त्यहॉं, भेटेकै छैन पर्खाल, सिमाना र आकाश, उड़दैछु, उड़दैछु, पोखिन्दैछु, पोखिन्दैछु, समात्दैछु, समात्दैछु, छाम्दैछु, छाप्दैछु, शून्यताका ढिस्कनाहरू, शून्यताका घरहरू शून्यताका लहरहरू, शून्यताका शहरहरू। घुम्दैछु, घुम्दैछु, नाच्दैछु, नाच्दैछु, शून्यताका आगोहरू ताप्दैछु, शून्यताकै हावाहरू खॉंदैछु, शून्यताकै लुगाहरू लाउदैछु, शून्यताकै हावाजहाज चढ़दैछु, उड्दैछु, उड़दैछु, शून्यता केवल शून्यता घुम्दैछु। अहँ! कही शेष दिशा छैन, अन्तिम लक्ष्य छैन, निमग्न शून्यताको महा संसारमा, महासागरमा, ब्रह्माण्डमण्डलको भित्र, सर्वत्र व्याप्त, अहँ! म टुंगिएको छैन, म सकिरहेको छैन, मसँग बादलहरू छन्, तारामण्डल छन्, खोला-नाला, नदी सागर सबै एकै साथ छन्, तर पनि तीहरू टुंगिएका छैनन्, मेरा फैलिएका हातहरू अनन्तसम्म फैलिएका छन्, म नटुंगिनु के हो, म नसकिनु के हो, म यतिविघ दूरीभित्र फैलिरहनु के हो, त्यत्रो अशेष आकाशहरू तरिसकेको छु र पनि अशेष आकाशहरू अझै तरिसकेको छैन मैले अझै। यति लामो अशेष यात्राहरू गरिसकेको छु र पनि अशेष यात्राहरू मैले बॉंचिरहेको छु अझै। हिड़दैछु, दगुर्दैछु, हिड़दैछु, दगुर्दैछु, फेरि बादलसितै उड़दैछु, शून्यता टेकेर, शून्यता नै समातेर शून्यता यति शक्तिशाली रहेछ, शून्यता यति अशेष रहेछ, शून्यता यति अनन्त रहेछ, शून्यताको आँखा पनि चारैतिर व्याप्त, हात, पाउ शरीर सबै चारैतिर रहेछ, कुन शून्यताको बिन्दुदेखि कुन शून्यताको बिन्दूसम्म पुग्न सक्दो रहेछु र मैले? यता पनि ह्वाल्लै पोखिएको शून्यता, उतै पनि सललै बगिरहेको शून्यता, बरू शून्य हावामा म पनि तुर्लुङ्ग तुर्लुङ झुण्डिरहेछु अन्तरिक्षको सतह सतह बरू शून्य सतहमा नै साउती लगाइरहेछु सौर नक्षत्र मण्डलकै तह तह, आफू पनि शून्यतामा विलय हुनुमा नै अहिले आनन्द आइरहेको छ आकाश-आकाश आफू पनि अथाह अनन्तको गर्भभित्र समाहित हुनुमा नै सम्पूर्णता पोखिरहेछ अशेष अशेष---
सामाजिक विषमता
यो बढ़्दो ब्यापकता, यो कस्तो बिकराल्ताएएएएएए (हिमगिरि अंक अक्टोबर 31,2002बाट) |
विचार -श्रृंखला -तारा साम्पाङ
क्रान्ति- विरोधाभासले वर्षौं गर्भाधान गरेर जन्माएको छोरा विरोधाभास- बेरुचीको गॉंस बलजफ्ति खुवाइदिँदा म वान्ता गरिदिन्छु। जीवन- जन्म र मृत्युबीच झोलिएको एउटा झिनो सॉंधु अधिकार- सॉंझ बिहान दुइ छाक खान सबैले पाउनुपर्छ। स्वतन्त्रता विचारानुसार चल्नु र इच्छानुसार जीउन पाउनु शून्यबोध- दु:ख्नु र नदु:ख्नु जस्ता क्रियाहरूको बोध हुँदैन तथापि...... भोगाइ निरन्तर सक्रीय छ। लज्जा- आँखामा हुनुपर्ने व्यवहारमा हुनुपर्ने मनोस्थितिमा हुनुपर्ने यहॉं जताहुँदी उदांगो भइदिन्छ। मृगतृष्णा- सागरको सतहमा डुबल्की लगाई मोती टिपुँ भन्दा मुठ्ठीभर बालुवा हात लाग्दछ। प्रेम- धीर मन अनयासै विथोलिन पुग्छ। विडम्बना- जिन्दगी जिउने मोहमा विसंगतिसित जेलिएर उ अकालमा मृत्यु मरिदिन्छ।। (कवयित्रीको हालै प्रकाशित शब्द-श्रृंखला पुस्तकबाट)
आत्मव्यथा
-डा. कविता लामा परदेशी छोरा तिमीलाई सम्झी यो पत्र पठाउँछु खोलेर पढ् आमाको व्यथा पत्रमा लेखेकी छु आमा र बाउ रोएको कहाँ गाउँ-घरले जान्दछ पत्र यो लेख्नुपर्ने नै भयो मनले भन्दछ छोरा,मनले भन्दछ। कति पो रूनु दिनरातभरि पीडा यो देख्तैन कति छ अभाव घरमा तिम्रो बाउले भन्दैन बाउले केही नभने पनि छोराको माया छ आशालु आँखा यो बाटोभरि निरन्तर पुगेको छ छोरा, निरन्तर पुगेको छ। घर नै रित्तो गाउँ नै शून्य वनपाखा अँध्यारो हरियाली छैन पहाडभरि जग नै अँध्यारो हे छोरा तिमी फर्क न फर्क यो घर सम्झेर म बूढी आमा कति दिन बाँच्छु यो घर रूङ्गेर छोरा, यो घर रुङ्गेर फर्के आऊ न आमाको काखमा यो दुखी भन्दछ आमा र बाउको एकमात्र तिमी सन्तान हो भन्दछ चाहिएन मलाई रूपियाँ र पैसा घरबार छँदैछ एकसरो खानु लाउऩु छ यहाँ लोभ किन गर्नुछ छोरा,लोभ किन गर्नुछ। आँखाको तारा परदेशमा तिमी कसरी बस्तैछौ सम्झेर ल्याउँछु तिमी झै छोरा कसरी हास्तैछौ गलेको शरीर थरथर काँप्छ जीवनको अन्तिम क्षण चोरा यो हेर्ने इच्छा छ साह्रै कति पो थाम्नु मन छोरा कति पो थाम्नु मन। फर्केर आऊ न हे, मेरो छोरा नून् भात खानेछौं परिवार साथ भए पो सधैं शान्तिले बाँच्नेछौं उमेर पाको भएको बाउले तिमीलाई पर्खनेछ यसचोटि पनि आएनौ भने मन हाम्रो मर्नेछ छोरा,मन हाम्रो मर्नेछ। डाँडा र काँडा काटेर गयौ गाउँ-घर नै भुलेर के सोची गयौ सधैंलाई तिमी मन कहाँ अल्झेर पोल्दछ छात्ती चोराको यादमा यो पहाड् हेरेर पढायौ धेरै सपना बोकी दुख नै गरेर छोरा दुख नै गरेर। यो बूढी आमा फुलेकी सेतै तिमीलाई सम्झेर मुटुको ढुङ्गा फ्याँकेर अब आऊ छोरा फर्केर छोरालाई सम्झी यो पत्र लेख्छु आशाले बाँचेकी छु अँगालो फैलाई बाटो म हेर्छु तिमीलाई पर्खेकी छु छोरा,तिमीलाई पर्खेकी छु। नयाँ नेपालको निर्माण
-स्नेहलता राई हे नेपाल, हे काठमाण्डौं, तिमीकहाँ पटक-पटक पुगिरहने मन भइरहने, तिम्रो सुरम्य वक्षस्थलमा लुटुपुटु गरिरहने, मन हुने तिम्रो विशाल विस्तृत अंगालोमा थाकै-थाक पहाड्का ओह्राली, वेंसी घुम्तीहरू खेतका सुन्दर तरेलीहरूमा वनका पहरा चट्टानहरूमा गण्डकी, राप्नी, सप्तकोशी कर्णाली, महाकाली, त्रिशुली सल-ल शान्तिको ऊँ कारमा बहँदैगरेकी तिमी नेपाल, साउदी अरबलाई 8 लाख 30 हजार वर्गमाइलमा फैलिएका-फैलावटभरि एउटै नदीको आशीर्वाद पुगेन तर तिमी जलकी भण्डारले सजिएकी नेपाल चितवनको त्यो शान्त परिवेश त्यहाँका गैडा,हात्ती, बकुला मयूर हात्तीवनका मृग,जरायो,खरगोस उत्तिकै उल्लासमा उफ्रदै निर्भय भई नाचेको नेपाल अन्नप्रूर्णा,सागरमाथा, धवलागिरी खुशीका किरणमा स्नान गरी मदमस्त गौरवान्वित उभिएकी नेपाल चक्रपथका दायाँ-बाँयामा हरिया सुन्दर वृक्ष वाटिका स्वागतम् स्वागतम् समीरका लयमा हल्लिरहेका, झुम्मिरहेका नेपाल निलो फेवाताल,गहिरो राराताल मेरिञ्चु ताल अनेकौं हिमताल पर्यटकहरूलाई आह्रान गर्ने छाल बन्दै गहिरिँदै गएको नेपाल पशुपति र पुरातन मन्दिर-मन्दिरमा शान्तिको सुमधुर घण्टी गुंजिरहने पवित्र धर्मशास्थल नेपाल तिमीले लोकतन्त्रको कुराइमा जनक्रान्तिको आन्दोलनमा असाध्यै असाध्यै मर्माहत बन्नुप-यो नि, आफ्नो दुख्दो छात्तीमा दर्दका दग्ध स्थान धेरै पुर्न प-यो, अब नयाँ नेपालको निर्माणको शंखनाद सुन्दैछौं मेचीवारिबाट हामी पनि यो शंखनाद सुनेर, आह्लादित बन्दैछौं यसैले प्यारो नेपाल शुभेच्छा छ तिमीलाई आउने दिन हिज जस्तो नहोस् साँच्चिकै नयाँ नेपाल बनोस् शान्तिको प्रचण्ड घाम झुल्कोस् अनाचार, व्यभिचाररहित समृद्ध देश बनोस् नयाँ आयामले अँगालोस् यस नयाँ नेपालमा, कुनै पनि नारीले सीताझै निर्वासित हुन नपरोस् वीर पाण्डव जन्माउऩे जननीझैं वनबासको शताब्दी टेक्न नपरोस् नयाँ नेपालको निर्माणमा एक टुक्रा मुटुमा मात्र होइऩ सिङ्गो मुलुकमा शान्ति छावस्। -माउन्ट हर्मन दार्जीलिङ
हुने बिरूवाको चिल्लो पात डा. महेन्द्र पी लामा -स्नेहलता राई हुने बिरूवाको चिल्लो पात भारतीय गोर्खाहरूका श्रीपेच डा. महेन्द्र पी लामा. म यस्तै सम्झन्छु जब सिंहमारी तेस्रोमा भानुग्रामको त्यो प्राथमिक पाठशालालाई देख्छु उऩको विद्याको प्रथम घडेरी म जस्तै शिक्षक-शिक्षिकाको काखमा हाम्रो जस्तै चारकोठे प्राथमिक पाठशालामा श्रीगणेश भएथ्यो विद्याका क, ख, ग र 1, 2, 3, अंकहरूमा हुने बिरूवा जहीं पनि... उम्रन सक्दो रहेछ उम्रेर कम उमेरमा नै पनि लट्टरम्मै उपलब्धिका फलहरू दिन सक्दो रहेछ समाजलाई अभिभावकलाई पनि मेरो आह्रान यी हाम्रा गौरव डा. महेन्द्र पी. लामालाई चाहिएन दामी, महंगो अंग्रेजी नर्सरी यही माटो र धूलोमा लड्बडी गरी उनले बटुले अमूल्य ज्ञानका खानी उनी बने साहित्य र अर्थशास्त्रका उद्यमी प्रखर ज्ञाता जवाहरलाल नेहरू विश्वविद्यालयका दक्षिण एशियाई अर्थशास्त्रका नामी ब्याख्याता हामी भारतीय गोर्खेहरूका पहिचान र साँचो शुभचिन्तक सम्पूर्ण भारत देशकै निम्ति अनेकौ जटिल विषयहरू र मञ्चहरूका प्रतिनिधित्व गर्ने एक सुयोग्य व्यक्ति उनी भर्खरै आसीन हुऩ पुगे सिक्किमका प्रथम केन्द्रिय विश्वविद्यालयका प्रथम नेपाली समुदायका प्रथम भाइस चान्सलर भएर। हामी गौरव गर्छौ उनीप्रति दार्जीलिङको आमाको कोखले यस्ता विद्वान सपुत जन्माए धन्य हुन् ती जननी जसले दशधारा दूधमा महेन्द्र पी लामाले माता सरस्वतीको पञ्चामृत पिएछ जसको उच्च आकांक्षा आफ्नो जातिको उन्नति प्रगति जसको जीवनको लालसा आफ्नो जातिलाई कुम्भकरणको नींदबाट बिउँझ्याउने हराएका चेहरा फर्काई ल्याउने कति महन विचारका धनी उनी अहिलेका अस्वस्थ दार्जीलिङको प्रसुति गृहमा तिमी जस्तै स्वास्थ सपुतको जन्मको -डा.महेन्द्र पी. लामा शुभ आवगमनलाई ह्रदयबाटै भव्य स्वागत यसैले म जस्तो क, ख ग पढाउने शिक्षिकाहरूका मनाकाशबाट, म जस्तै दार्जीलिङका आमाहरूका ह्रदयको तहैबाट बधाईका सहस्रौं फुलवर्षा शुभकामनाका सहस्रौं फूलवर्षा -माउन्ट हर्मन दार्जीलिङ |
|
|||||