|
हराएको फाइलसित बाबुको बिलौना -विजय बान्तवा अचेल कार्यालय प्रशासनको मालिक भएकोछ, जो लुते,लाङ्गरे र च्याङलेहरूको निम्ति खाने बाघ भएर गमक्क परेर बसेको हुन्छ, गर्जेर मासु लुछ्न कतिबेला। काम नभएका सृजनाका गरीब कर्मचारी कुर्सीमा नै निदाइपठाउँछ, वा, होहल्लाको बजारबाट आएको हावामा बेस्सरी गफिन्छ, सुन्नु भन्नु केही छैन, खै कोनी, मलाई त थाहा छैन, छैन केही दायीत्व छैन, केही कर्मको भार छैन, मात्र विहान घाम झुल्केको र बेलुकी घाम अस्ताएको समयको याद आफूसित छ, समयको ज्ञान आफूसित छ, देवालमा झुण्डाइएको पुरानो घड़ीको सुइको भरमा उठ् बस्को क्रम चल्दो छ। जीवन निदाएको छ लाश जस्तो लम्पसार परेर रातभरि, सपनामा धताएको जस्तो विपनामा भुलिएको सपनाकै कुरा जस्तो, एकोहोरो उद्देश्यहीन, अन्धकार कोठामा जीवन लोलाएको छ, जीवन त्यसै पोखिरहेछ मात्र घरदेखि दफ्तर आउनु र दफ्तरदेखि घर जानुको क्रममा एउटा फगत यन्त्र सरह। यी कोठाहरू, यी कुर्सीहरू छोड़ेर जानुछ मैंले एकदिन, यी घरहरू, यी गाउँहरू र यी मानिसहरूको समुहमा म पनि मानिस हुँ, फगत एक मानिस, सोच्दैनन् प्रशासक, बुझ्दैनन् अफिसर कुर्सीमा मातिञ्जेल, यतिबेला अभिमानको बादलले ड्याम्म छोपेको छ- ज्ञानको मस्तिष्कलाई। अजम्बरी चोला पाइएको भ्रमको राप लागेको छ -यो जीवनलाई। वेतनको उच्च दर र पद्प्रिय बनेकोछ -यो अवसरलाई भोलि गएर सत्ताबाट जनतामा मिल्नुछ जनता भएर, जब परिस्थिति आइपर्छ सबैबाट उपेक्षित भइन्छ, कलीको मुकुट लाएको, भ्रमको खास्टो ओड़ेको, बुझ्दैनन् सुसुप्त नेता, बुझ्दैनन् लोलुप्त सत्ता, अरू त मान्छे नै होइन कि व्यवहारले भोलि उसलाई चिल्छ चिथ्रा परेको अवकाश-जीवन अभिशाप बन्छ। कुर्सीमा बसेर अरूको हित सोचेको जीत हुन्छ, जनताको हृदयमा बॉंचे नेता हुनु पो नेता हुनु,सत्यता बॉंच्छ, जनसेवाको भावना ओड़ेर जनसेवामा आफ्नो अस्तित्व विलय गर्नु पो सेवक हुनु,यथार्थ बोल्दछ, यहॉं त फगत अजिङ्गरले आसन ओगटेको छ गोहीको आँसु झारेर मौकामा, मुखुण्डो ओड़ेर सद्भावना त्र फोस्रो सहानुभूतिमा अरूलाई भ्रमको सपनामा डुलाएर, व्यवस्थालाई बिगार्ने फ्याउरा आज मानिसको मालिक बनेको छ, यसैले यो आकाशमा अचेल कालो बादलभरि वज्रको प्रहार छ। मान्छेले मान्छेकै मासु लुछ्दैछ, बाबु!यो अफिस होइन मानवताको, राक्षसको ओड़ार हो! राक्षसको ओड़ार! बाबु!किन यहॉं आयौ नि! तिम्रो दु:खका आवेदनहरू सबै अजिङ्गरको मुखमा छ, चबाएर तिम्रो मासु र हड्ढी उ पुष्ट भएको छ, कसरी अभिनय गर्न जान्दछन् फेरि यी अभिनेताहरू हॉंसेर तिमीलाई फाइलहरूको चलचित्र देखाएर गज्जबसित, फाइलहरू आफै पचाएर तिम्रै दु:खको गीत गाइबस्छ, अभिनयमा बुबुरो भएर वा अन्धाको साथी लंगड़ो भएर। बिना आक्रोश र विना विद्रोह सुटुक्कै तिम्रो दिनहरू चोर्छ तिम्रो सहानुभूति र मायाहरू सबै चोर्छ त्र तिमीलाई बूढ़ो बनाउँछ, गल्याउँछ, थक्याउँछ। पाखण्डी यी राक्षसहरूले फाइलको क्यारोम खेलेर वा बाल्यपनको लुकीचोरी खेलेर, तिम्रो सपना, योजना अब तिमीसितै बूढ़ो बन्दैछ, एता अर्कै कानेखुशी गर्छ, उता अर्कै हल्ला बक्छ, ङिच्च हॉंस्छ, गरीब बबुरो गाउँले बाबुको फाइल हराएकै छ। कुन चेपमा मूसोले गुढ़ लगायो नि वा माकुरोले जालो बुन्यो नि, आँखाको आँसुमा डुब्यो बाबु तिम्रो दिन, यी अफिसहरू अब तिम्रा चिहान हुन्, जहॉं भूतहरूले आफ्नो मायावी शक्तिले तिम्रा फाइलहरू उड़ाई लैजान्छन्, कसरी कसरी सुत्तै सुत्तै तिमीलाई लट्याउँछन्, तिमी भने कति सुधो छौ कुनै प्रतिवाद बिना राक्षसलाई तिम्रो रगत चुस्न दिइरहेका छौं निमग्न, कोही देउता भएर जन्मेका होलान् कुनै दिन कोही अफिसमा फाइललाई जगाउँदै जीवन दिएर, तर पनि रगत तिम्रो चुसेकै हुन्छ अर्को कोही दानव पसेर फाइलभित्र सुटुक्क, मलाई थाहा छ, कति तिमीले यत्न गरेर जीवनका सम्पूर्ण सपनाका आकाशहरू मेहनतले एकेक गर्दै टॉंसेका छौ फाइलमा, तिम्रो लागि त्यो इम्पोर्टेन्ट फाइल छ तिम्रै जीवन-मरणका प्रश्नहरू उर्लेको, कति कञ्जुस हातहरू छन् केवल संवेदनाहरू नभएको रित्तो हातहरू, मात्र जीवनको परिधिभरि घुम्दो छ आफू अरूलाई मूर्ख बनाउन खोजेर, चुरोट पिउँदै राक्षस फेरि केवल टेलिफोन समात्छ, पत्थर बोल्छ त्र तिम्रो जीवनको फाइललाई खिल्ली उड़ाउँदै खोक्छ, जीवन भनेको नै उनीहरूले तिमीलाई छक्काउनु जानेको हो आफ्नो आलोशन भवनमा लुकीचोरी खेलेर- अझ कति आडम्बरका रंगीबिरंगी बिजुली उनीहरूले बाल्ने हुन्, कुन कुन मोजाक र टाइल्सले उनका महलहरू अझ सजिने हुन्, गरीबको रगतले रंगाएर टिल्टिल, देखेकै छैनन् उनीहरूले बाबु ! पैह्रोले ढल्नै आटेको तिम्रो सम्वेदनाका झोपड़ीहरू, जानेकै छैनन् उनीहरूले अस्पतालमा- अलसतसल परेका मिर्गौला फेर्न नपाएका रोगीका विलापहरू, उनीहरूलाई तिम्रो मलामी चाहिंदैन, |
त्यसैले उनीहरूलाई तिम्रो सम्वेदना पनि चाहिन्दैन, उनीहरूलाई मृत्यु र रिटाइरमेन्ट थाहा छैन, त्यसैले तिम्रो फाइलमा जीवन पस्दैन, फाइल लड़ेको छ, बिमारले रोगाएर पहेंलिएर जीवन जस्तै बाबु तिम्रो, घर फर्केर बरू भत्केको तिम्रो घरमा एउटा ढुंगा हाल पर्खाललाई टेवा भनेर, घर फर्केर तिम्री रोगी पत्नीलाई सहानुभूतिको फिका पानी उमालेर अलिकति देऊ,त्यसैमा जीवन धन्य मान, यहॉं त तिम्रो आर्तनाद, दु:खका पीढ़ाहरू यी लबस्तरो पाषाण हृदयहरूले बुझ्दैनन् नि... दु:ख बुझ्नलाई त संवेदनशीलता चाहिन्छ नि दु:खको बाबु, दु:ख त बेस्सरी रक्सीमा पिएर उनीहरू निर्धक्क सुत्छन् त्र मुटुको संवेदनालाई उनीहरू औषधी छर्केर, बेस्सरी आफूलाई प्रोटेक्सन गरेका हुन्छन् नि, त्यसैले दु:ख्दैन उनीहरूलाई तिम्रो दु:खहरू, दु:खहरू छिर्ने प्वॉंलहरू सबै बन्द छन् यी पाषाण मुटुहरूमा। तिमीले भोग्नलाई दु:ख नै छ र नै फाइल हराएको छ, खोई कहॉं उजुर गर्छौ र न्यायको कुरा गर्छौं, -कानूनको कुरा गर्छौ, खुइय्या गरेर आफ्नै मुटुलाई दुर्बल बनाएर बेस्सरी किन रुन्छौ! फाइल हरायो ! विचरा चुक् चुक्! तिमी रोएर फाइल पनि कतै चेप्टिएर रोइबसेको होला, त्यो त निष्प्राण फाइललाई नै बरू थाहा भइसक्यो होला, तरै पनि तिम्रो आँखा अघि कहिले ती पाषाण हृदय पग्लने होइन जसले निकालेर जीवन देओस् ती फाइलहरूमा। तिमी ती फाइलहरूमा तिम्रो जीवन देख्छौ, उनीहरू ती फाइलमा तिम्रो काल खोज्छन्, तिमी ती फाइलहरूमा आस्थाका सपना उमार्छौ, उनीहरू ती फाइलमा बीष घोल्न थाल्छन्। तिम्रो विश्वासमा विश्व अड़िएको छ, उनीहरूको विश्वासमा केवल प्रलोभन अड़िएको छ। कुन दिन धराशयी बन्नेछन् यी ओड़ारहरू तिम्रै दु:खका आँसुहरूले, तिम्रै श्रापका कुराहरूले, फाइल खोज्दा हैरान तिमीले तिम्रो समय हरायौं, उमेर पनि हरायौ, खुशी पनि हरायौ, आमा बाबु पनि हरायौ, स्वास्नी पनि हरायौ, बिचरा बाबु तिमी किन अझै रुन्छौ! किन जन्म्यौ होलानि फाइल खोज यहॉं दु:खले यसरी! तिम्रो सृजनशीलताहरू साटेर सबै फाइलहरूमा। दिन रात गन्छौ, फाइल हराइरहेकै छ, सपना उमार्छौ, फाइल हराइरहेकै छ, बिचरा, चुक् चुक! तिम्रो सपना चक्नाचुर भयो! साह्रै मन दु:खायौ! के गर्छौ बबुरो! यी पाषाणहरूमा दया, माया र सहानुभूतिका मानवीय गुणहरूकै अनिकाल परेको छ भने, तिमी बेस्सरी दु:ख्दैछौ, दिनहरू त्यसै बितेको पाएर, अब त यहॉं तिमीले जीवनको धरोहर बनाउनलाई एउटा शक्तिशाली पहाड़ भएर एउटा भीषण आँधी बेहेरी चलिदिनुपर्छ त्र शेष गरिदिन पर्छ ती ओड़ारका राक्षस- प्रवृतिहरू, अब त तिमी आफै ज्वालामुखी पढ़केर सल्काइदिनुपर्छ यी आडम्बरका जंगलहरू, तिमी बबुरो बनेर अब अफिस बेसी नधाऊ बाबु! आँधी बनेर तूफान भएर उड़ाइदेऊ ती पर्खालहरू, तिमी निर्धा बनेर होइन अब भयंकर प्रलय भएर फुटाइदेऊ ती राक्षसका निर्दयी आँखाहरू! ता कि अब निर्धाहरूको फाइल कुनै कतै गुफा र ओड़ारतिर नहराओस्, ता कि कुनै गरीबको सपना कुनै कतै अवहेलनाको बगरमा आँसु बनेर नसोसियोस्। तिम्रो हिमाल हल्लिने हुँकारले अब यहॉंका अफिसहरू हल्लियोस्, तिम्रो भूकम्म आउने पद्चापले यहॉंको अजिङ्गरहरू अब अत्तालियोस्। बाबु, अझ पनि दु:खका फाइलहरूको थुप्रो, यहॉंको ओड़ारमा थुपार्ने काम छैन, तिम्रो तप्तप् चुहेको पसीना र आँसुको -लेखाजोखा गर्छ कसले यहॉं! जहॉं त तिम्रो अधिकारलाई कालो खुट्टाले कुल्चने दुस्सानहरूको कुशासन चलेको छ, जहॉं त मानिसको संवेदना र मुटुलाई नापजोख र किनबेच गर्ने पसल बसेको छ। बाबु,त्यो पसलमा तिमी अझ पुरानो कागज र दस्तावेजको पोकोहरू नथुपार, आज तिम्रो सम्वेदनामा अजिङ्कगरहरूले दिउँसै आगो सल्काइदिएको छ, तिम्रो मुटुको स्पन्दनमा उनीहरूले बज्रघात गरिसकेको छ। आशाको झोली लिएर तिमी बेलुकी रित्तै झोली फर्क्यौ: विचरा! अब आँखामा तप्तप् रगत् चुहाउने काम छैन, तिमी भोलिदेखि चट्याङ भएर अफिस पस तिमी भोलिदेखि भूकम्प भएर अफिस पस। अफिसमा सत्यका विचारहरूलाई रक्षा गर, सत्यका बीऊहरू छर, र असत्यका आचरणहरूलाई नष्ट गर! नत्र भोलि तिम्रा छोराहरू पनि तिमी जस्तै फाइल हराएर, रुँदै रुँदै मृत्यु भएको फाइलसितै आत्महत्या गर्न सक्छन्। अफिसमा आदर्शका तन्तुहरूलाई सम्वर्ध्दन गर र बिब्ल्यॉंटो भएको परिवेशलाई संहार गर। यो नै तिम्रो अन्तिम विजय हो बाबु, यो नै अबदेखि तिम्रो लक्ष्य हो, अब फेरि तिमी आफिसमा हराएको फाइलसितै कहिले रुने छैनौं, रोगाएका तिम्री पत्नीसित तिमी आफै पनि मर्नै छैनौं। फाइल तिम्रो जीवन हॉंस्छ, तिमी जीवनको फाइल हॉंस्छौ। (रचनाकाल 2002 सन्) ------0000------ |
|
|||