sisikkim news darjeeling news indian gorkhas      home        -विजय बान्तवाका कविताहरू-----

 

 

     ब्द- ब्रह्माण्ड

 एकाएक प्रष्फुरण भयो, एकाएक विष्फोटन् भयो

ॐकार शब्द, झंकार शब्द

लहर लहर लहराउँदै, सागर सागर सुसेल्दै

संगीत-सुरमा सरगम सम्हाल्दै

अन्हद्को ध्वनि सुनेर आल्हादित बन्यो

पुलकित बन्यो मन मस्तिष्क

शून्यतामा यति विघ ध्वनिहरू गुञ्जिरहेछन्,

स्वर लहरी स्वर लहरी-

मिठासपूर्ण, मनमोहन सम्पूर्ण,

सुनेर सबै स्वरहरू

भाव विभोर भइउठ्यो,

अन्तरिक्षभरिका शब्दहरू,

केही न केही अर्थ बोकेका शब्दहरू,

केही न केही उद्देश्यमा उपस्थित अक्षरहरू

अनन्तमा मौलाइरह्यो,

अनन्तमा जागिउठ्यो,

सबै शब्दहरू नै भक्ति प्रिय,

सबै शब्दहरू नै समर्पित,

अहंकार हराएका सबै शब्दहरू,

भावालु शब्दहरू, संवेदनशील शब्दहरू,

सकारात्मक सबै शब्दहरू,

नकारात्मक विलोपित शब्दहरू,

सकारात्मक आह्लादित भावहरू,

शान्तवना र सहानुभूतिका शब्दहरू,

नकारात्मकता हटिएपछि सबै शब्दहरू नै सारयुक्त,

विवाद सबै मेटिएपछि सबै शब्दहरू नै उपहारयुक्त,

वाणीमा अमृत, मनमा सुधा,

हृदयमा पायस, मस्तिष्कमा विवेक-शक्ति,

शब्दहरूको संगति, शब्दहरूको मेला,

शब्दहरूको सप्तरंगी भेला,

शब्दहरूको अद्भूत चमत्कार,

शब्दहरूमा नै ध्वनि पनि रमाएका,

शब्दहरूको भावमा नै परिवेश उज्यालिएका,

शब्दहरूले चारैतिर रमाइला सिंगारिएका सिंहासन,

शब्दहरूले उन्मादित सजिएका सुन्दर संसार,

शब्दहरूमा नै शान्ति, सद्भावना र सहिष्णुता,

शब्दहरूमा नै पूर्वज्ञान, पूर्वाभास र सम्पूर्ण अभियान,

शब्दहरूमा नै शान्तिको आग्रह र क्रान्तिको अभियान,

शब्दकोषभरि सजिएका शब्दहरू

मौरीको भूँ भूँ संगीतबद्धतामा-

मह बनाइरहेका मीठा मीठा शब्दहरू,

उपसर्ग, प्रत्यग, विसर्ग, हलन्त, पूर्ण विराम आफै बोकेर,

मानव-संसारलाई शब्द ब्रह्याण्डले दिइरहेछ उपहार,

सागरको गहिराइबाट झिकेर मोती सरह,

बरदान,आशीर्वाद, शुभकामना सबै शब्दहरू,

मानिसलाई विजयको माला पहिराएर,

आफै अलंकृत भइरहेछ,

अभिनन्दन, अभ्यर्थना, अभिवादन, अभिव्यञ्जना अर्थिएर,

शब्दहरू अभिव्यक्तिमा ब्रह्याण्डमा जोड़िरहेछ।

शब्दले शब्दकै शुद्धीकरण खोज्दै

पर्यायवाची र अनेकार्थी रुप धारण गर्दै,

ब्रह्याण्ड र धरती क्रमश शोभायमान भइरहेछ।

विवेकको तरंगमा असल र सकारात्मक शब्दहरू,

मानव-मस्तिष्कमा भरिरहेछ, अमृतसरि घोलिरहोस् ,

शब्दहरूले सकारात्मक भाव-अर्थहरू बोलिरहेछन्।

लौकिक-धारणामा अर्थाइएका नकारात्मक शब्दहरू सबै

ब्रह्याण्डमा न्वरान गर्नु उड़िरहेछन् आज

अनि शुद्धीकरण भएर केवल

अब प्रष्फुटन यसरी नै भइरहोस् मात्र सकारात्मक अर्थहरू,

उद्देश्यात्मक लक्ष्यहरू,

शब्दहरूले यहीं चाहना र अभिलाषामा,

ब्रह्याण्ड-मण्डलमा सभा आयोजन गरेर,

शब्दको नयॉं रुपान्तर भइरहेछ,

शब्दका नयॉं भावहरू जन्माइरहेछ।

वाणी-साधनामा यी शब्दहरू,

साधु सन्त जस्तै निर्मल र चोखो हुन्,

सरस्वती देवीको वरदान र बोली बनून्,

आज भन्किरहेछ भुनुनु शब्दहरू शब्द-ब्रह्याण्डमा,

विश्वभरि अरबौं भाषाबाट रुपान्तर भएर,

ध्वनिको गति सूर्यमा प्रकाशमान भइरहेछ,

शब्दको भावहरू प्रकृतिबाट नै प्रसारित भइरहेछ।

श्रवण-शक्तिमा अब देवत्वको क्षमता बसोस्,

वाणी-शक्तिले अब शारदा माताको रुप नै धरोस्,

शब्दहरू अब मानिसका आभूषण बनून्, बनिरहून्,

भाषा मतान्तरको रुपान्तर चक्रदेखि उठेर माथि,

हृदयदेखि हृदयको भाषा बोलिरहून्,

शब्दहरू अब देउता बनेका छन्,

मात्र स्वार्थ- संसार दानव छन्।

देउता बनेका शब्दहरूले अब ब्रह्याण्डमा नै बास गर्नेछन्,

विवेकी मानव अब ब्रह्मस्वरुप शब्दहरूमा नै सत्य जीवन देख्छन्,

सद्विवेकी मानवले शब्द-ब्रह्माण्डमा नै आफ्नो सद्स्वरुप भेट्छन्,

अनि जगतीतलमा रमाइलो शब्दहरूको वर्षात् गर्छन्।

सकारात्मक शब्द र भाषा हराएकाहरू,

गलत अर्थ मात्र बताइएका जीवहरू,

अब नितान्त पाषाण बन्ने क्रममा छन्,

सबल, सशक्त र सजीव शब्दहरूमा सुशोभित मानवहरू,

अब क्रमश: दैविक शब्द लोकमा प्रवेश गरिरहेछन्, गरिरहेछन्।

(प्रकाशित पुस्तक शब्द ब्ह्माण्ड-बाट)

- -विजय बान्तवा

 

 

हराएको फाइलसित बाबुको बिलौना

 -विजय बान्तवा

अचेल कार्यालय प्रशासनको मालिक भएकोछ,

जो लुते,लाङ्गरे र च्याङलेहरूको निम्ति खाने बाघ भएर

गमक्क परेर बसेको हुन्छ, गर्जेर मासु लुछ्न कतिबेला।

काम नभएका सृजनाका गरीब कर्मचारी कुर्सीमा नै निदाइपठाउँछ,

वा, होहल्लाको बजारबाट आएको हावामा बेस्सरी गफिन्छ,

सुन्नु भन्नु केही छैन, खै कोनी, मलाई त थाहा छैन, छैन

केही दायीत्व छैन, केही कर्मको भार छैन,

मात्र विहान घाम झुल्केको र बेलुकी घाम अस्ताएको

समयको याद आफूसित छ, समयको ज्ञान आफूसित छ,

देवालमा झुण्डाइएको पुरानो घड़ीको सुइको भरमा

उठ् बस्को क्रम चल्दो छ।

जीवन निदाएको छ लाश जस्तो लम्पसार परेर रातभरि,

सपनामा धताएको जस्तो विपनामा भुलिएको सपनाकै कुरा जस्तो,

एकोहोरो उद्देश्यहीन, अन्धकार कोठामा जीवन लोलाएको छ,

जीवन त्यसै पोखिरहेछ मात्र घरदेखि दफ्तर आउनु र

दफ्तरदेखि घर जानुको क्रममा एउटा फगत यन्त्र सरह।

यी कोठाहरू, यी कुर्सीहरू छोड़ेर जानुछ मैंले एकदिन,

यी घरहरू, यी गाउँहरू र यी मानिसहरूको समुहमा

म पनि मानिस हुँ, फगत एक मानिस,

सोच्दैनन् प्रशासक, बुझ्दैनन् अफिसर कुर्सीमा मातिञ्जेल,

यतिबेला अभिमानको बादलले ड्याम्म छोपेको छ-

ज्ञानको मस्तिष्कलाई।

अजम्बरी चोला पाइएको भ्रमको राप लागेको छ

                                    -यो जीवनलाई।

वेतनको उच्च दर र पद्प्रिय बनेकोछ

                                    -यो अवसरलाई

भोलि गएर सत्ताबाट जनतामा मिल्नुछ जनता भएर,

जब  परिस्थिति आइपर्छ सबैबाट  उपेक्षित भइन्छ,

कलीको मुकुट लाएको, भ्रमको खास्टो ओड़ेको,

बुझ्दैनन् सुसुप्त नेता, बुझ्दैनन् लोलुप्त सत्ता,

अरू त मान्छे नै होइन कि व्यवहारले  भोलि उसलाई चिल्छ

चिथ्रा परेको अवकाश-जीवन अभिशाप बन्छ।

कुर्सीमा बसेर अरूको हित सोचेको जीत हुन्छ,

जनताको हृदयमा बॉंचे नेता हुनु पो नेता हुनु,सत्यता बॉंच्छ,

जनसेवाको भावना ओड़ेर जनसेवामा

आफ्नो अस्तित्व विलय गर्नु पो सेवक हुनु,यथार्थ बोल्दछ,

यहॉं त फगत अजिङ्गरले आसन ओगटेको छ

गोहीको आँसु झारेर मौकामा,

मुखुण्डो ओड़ेर सद्भावना

त्र फोस्रो सहानुभूतिमा अरूलाई भ्रमको सपनामा डुलाएर,

व्यवस्थालाई बिगार्ने फ्याउरा आज मानिसको मालिक बनेको छ,

यसैले यो आकाशमा अचेल कालो बादलभरि वज्रको प्रहार छ।

मान्छेले मान्छेकै मासु लुछ्दैछ,

बाबु!यो अफिस होइन  मानवताको,

राक्षसको ओड़ार हो! राक्षसको ओड़ार!

बाबु!किन यहॉं आयौ नि!

तिम्रो दु:खका आवेदनहरू सबै अजिङ्गरको मुखमा छ,

चबाएर तिम्रो मासु र हड्ढी उ पुष्ट भएको छ,

कसरी अभिनय गर्न जान्दछन् फेरि यी अभिनेताहरू

हॉंसेर तिमीलाई फाइलहरूको चलचित्र देखाएर गज्जबसित,

फाइलहरू आफै पचाएर तिम्रै दु:खको गीत गाइबस्छ,

अभिनयमा बुबुरो भएर वा अन्धाको साथी लंगड़ो भएर।

बिना आक्रोश र विना विद्रोह सुटुक्कै तिम्रो दिनहरू चोर्छ

तिम्रो सहानुभूति र मायाहरू सबै चोर्छ

त्र तिमीलाई बूढ़ो बनाउँछ, गल्याउँछ, थक्याउँछ।

पाखण्डी यी राक्षसहरूले फाइलको क्यारोम खेलेर

वा बाल्यपनको लुकीचोरी खेलेर,

तिम्रो सपना, योजना अब तिमीसितै बूढ़ो बन्दैछ,

एता अर्कै कानेखुशी गर्छ, उता अर्कै हल्ला बक्छ,

ङिच्च हॉंस्छ, गरीब बबुरो गाउँले बाबुको फाइल हराएकै छ।

कुन चेपमा मूसोले गुढ़ लगायो नि वा माकुरोले जालो बुन्यो नि,

आँखाको आँसुमा डुब्यो बाबु तिम्रो दिन,

यी अफिसहरू अब तिम्रा चिहान हुन्,

जहॉं भूतहरूले आफ्नो मायावी शक्तिले

तिम्रा फाइलहरू उड़ाई लैजान्छन्,

कसरी कसरी सुत्तै सुत्तै तिमीलाई लट्याउँछन्,

तिमी भने कति सुधो छौ कुनै प्रतिवाद बिना राक्षसलाई

तिम्रो रगत चुस्न दिइरहेका छौं निमग्न,

कोही देउता भएर जन्मेका होलान् कुनै दिन

कोही अफिसमा फाइललाई जगाउँदै जीवन दिएर,

तर पनि रगत तिम्रो चुसेकै हुन्छ

अर्को कोही दानव पसेर फाइलभित्र सुटुक्क,

मलाई थाहा छ, कति तिमीले यत्न गरेर

जीवनका सम्पूर्ण सपनाका आकाशहरू

मेहनतले एकेक गर्दै टॉंसेका छौ फाइलमा,

तिम्रो लागि त्यो इम्पोर्टेन्ट फाइल छ

तिम्रै जीवन-मरणका प्रश्नहरू उर्लेको,

कति कञ्जुस हातहरू छन्

केवल संवेदनाहरू नभएको रित्तो हातहरू,

मात्र जीवनको परिधिभरि घुम्दो छ आफू

अरूलाई मूर्ख बनाउन खोजेर,

चुरोट पिउँदै राक्षस फेरि

केवल टेलिफोन समात्छ, पत्थर बोल्छ

त्र तिम्रो जीवनको फाइललाई खिल्ली उड़ाउँदै खोक्छ,

जीवन भनेको नै उनीहरूले तिमीलाई छक्काउनु जानेको हो

आफ्नो आलोशन भवनमा लुकीचोरी खेलेर-

अझ कति आडम्बरका रंगीबिरंगी बिजुली उनीहरूले बाल्ने हुन्,

कुन कुन मोजाक र टाइल्सले उनका महलहरू अझ सजिने हुन्,

गरीबको रगतले रंगाएर टिल्टिल,

देखेकै छैनन् उनीहरूले बाबु !

पैह्रोले ढल्नै आटेको तिम्रो सम्वेदनाका झोपड़ीहरू,

जानेकै छैनन् उनीहरूले अस्पतालमा-

अलसतसल परेका मिर्गौला फेर्न नपाएका रोगीका विलापहरू,

उनीहरूलाई तिम्रो मलामी चाहिंदैन,

त्यसैले उनीहरूलाई तिम्रो सम्वेदना पनि चाहिन्दैन,

उनीहरूलाई मृत्यु र रिटाइरमेन्ट थाहा छैन,

त्यसैले तिम्रो फाइलमा जीवन पस्दैन,

फाइल लड़ेको छ, बिमारले रोगाएर पहेंलिएर

जीवन जस्तै बाबु तिम्रो,

घर फर्केर बरू भत्केको तिम्रो घरमा

एउटा ढुंगा हाल पर्खाललाई टेवा भनेर,

घर फर्केर तिम्री रोगी पत्नीलाई सहानुभूतिको फिका पानी

उमालेर अलिकति देऊ,त्यसैमा जीवन धन्य मान,

यहॉं त तिम्रो आर्तनाद, दु:खका पीढ़ाहरू

यी लबस्तरो पाषाण हृदयहरूले बुझ्दैनन् नि...

दु:ख बुझ्नलाई त संवेदनशीलता चाहिन्छ नि दु:खको बाबु,

दु:ख त बेस्सरी रक्सीमा पिएर उनीहरू निर्धक्क सुत्छन्

त्र मुटुको संवेदनालाई उनीहरू औषधी छर्केर,

बेस्सरी आफूलाई प्रोटेक्सन गरेका हुन्छन् नि,

त्यसैले दु:ख्दैन उनीहरूलाई तिम्रो दु:खहरू,

दु:खहरू छिर्ने प्वॉंलहरू सबै बन्द छन् यी पाषाण मुटुहरूमा।

तिमीले भोग्नलाई दु:ख नै छ र नै फाइल हराएको छ,

खोई कहॉं उजुर गर्छौ र न्यायको कुरा गर्छौं,

-कानूनको कुरा गर्छौ,

खुइय्या गरेर आफ्नै मुटुलाई दुर्बल बनाएर

बेस्सरी किन रुन्छौ! फाइल हरायो ! विचरा चुक् चुक्!

तिमी रोएर फाइल पनि कतै चेप्टिएर रोइबसेको होला,

त्यो त निष्प्राण फाइललाई नै बरू थाहा भइसक्यो होला,

तरै पनि तिम्रो आँखा अघि कहिले ती पाषाण हृदय

पग्लने होइन जसले निकालेर जीवन देओस् ती फाइलहरूमा।

तिमी ती फाइलहरूमा तिम्रो जीवन देख्छौ,

उनीहरू ती फाइलमा तिम्रो काल खोज्छन्,

तिमी ती फाइलहरूमा आस्थाका सपना उमार्छौ,

उनीहरू ती फाइलमा बीष घोल्न थाल्छन्।

तिम्रो विश्वासमा विश्व अड़िएको छ,

उनीहरूको विश्वासमा केवल प्रलोभन अड़िएको छ।

कुन दिन धराशयी बन्नेछन् यी ओड़ारहरू

तिम्रै दु:खका आँसुहरूले,

तिम्रै श्रापका कुराहरूले,

फाइल खोज्दा हैरान तिमीले तिम्रो समय हरायौं,

उमेर पनि हरायौ, खुशी पनि हरायौ,

आमा बाबु पनि हरायौ, स्वास्नी पनि हरायौ,

बिचरा बाबु तिमी किन अझै रुन्छौ!

किन जन्म्यौ होलानि फाइल खोज यहॉं दु:खले यसरी!

तिम्रो सृजनशीलताहरू साटेर सबै फाइलहरूमा।

दिन रात गन्छौ, फाइल हराइरहेकै छ,

सपना उमार्छौ, फाइल हराइरहेकै छ,

बिचरा, चुक् चुक! तिम्रो सपना चक्नाचुर भयो!

साह्रै मन दु:खायौ! के गर्छौ बबुरो!

यी पाषाणहरूमा दया, माया र सहानुभूतिका

मानवीय गुणहरूकै अनिकाल परेको छ भने,

तिमी बेस्सरी दु:ख्दैछौ, दिनहरू त्यसै बितेको पाएर,

अब त यहॉं तिमीले जीवनको धरोहर बनाउनलाई

एउटा शक्तिशाली पहाड़ भएर

एउटा भीषण आँधी बेहेरी चलिदिनुपर्छ

त्र शेष गरिदिन पर्छ ती ओड़ारका राक्षस- प्रवृतिहरू,

अब त तिमी आफै ज्वालामुखी पढ़केर

सल्काइदिनुपर्छ यी आडम्बरका जंगलहरू,

तिमी बबुरो बनेर अब अफिस बेसी नधाऊ बाबु!

आँधी बनेर तूफान भएर उड़ाइदेऊ ती पर्खालहरू,

तिमी निर्धा बनेर होइन अब भयंकर प्रलय भएर

फुटाइदेऊ ती राक्षसका निर्दयी आँखाहरू!

ता कि अब निर्धाहरूको फाइल

कुनै कतै गुफा र ओड़ारतिर नहराओस्,

ता कि कुनै गरीबको सपना

कुनै कतै अवहेलनाको बगरमा आँसु बनेर नसोसियोस्।

तिम्रो हिमाल हल्लिने हुँकारले अब

यहॉंका अफिसहरू हल्लियोस्,

तिम्रो भूकम्म आउने पद्चापले

यहॉंको अजिङ्गरहरू अब अत्तालियोस्।

बाबु, अझ पनि दु:खका फाइलहरूको थुप्रो,

यहॉंको ओड़ारमा थुपार्ने काम छैन,

तिम्रो तप्तप् चुहेको पसीना र आँसुको

-लेखाजोखा गर्छ कसले यहॉं!

जहॉं त तिम्रो अधिकारलाई कालो खुट्टाले कुल्चने

दुस्सानहरूको कुशासन चलेको छ,

जहॉं त मानिसको संवेदना र मुटुलाई

नापजोख र किनबेच गर्ने पसल बसेको छ।

बाबु,त्यो पसलमा तिमी अझ पुरानो कागज

र दस्तावेजको पोकोहरू नथुपार,

आज तिम्रो सम्वेदनामा अजिङ्कगरहरूले

दिउँसै आगो सल्काइदिएको छ,

तिम्रो मुटुको स्पन्दनमा उनीहरूले बज्रघात गरिसकेको छ।

आशाको झोली लिएर तिमी बेलुकी रित्तै झोली फर्क्यौ: विचरा!

अब आँखामा तप्तप् रगत् चुहाउने काम छैन,

तिमी भोलिदेखि चट्याङ भएर अफिस पस

तिमी भोलिदेखि भूकम्प भएर अफिस पस।

अफिसमा सत्यका विचारहरूलाई रक्षा गर,

सत्यका बीऊहरू छर,

र असत्यका आचरणहरूलाई नष्ट गर!

नत्र भोलि तिम्रा छोराहरू पनि तिमी जस्तै फाइल हराएर,

रुँदै रुँदै मृत्यु भएको फाइलसितै आत्महत्या गर्न सक्छन्।

अफिसमा आदर्शका तन्तुहरूलाई सम्वर्ध्दन गर

र बिब्ल्यॉंटो भएको परिवेशलाई संहार गर।

यो नै तिम्रो अन्तिम विजय हो बाबु,

यो नै अबदेखि तिम्रो लक्ष्य हो,

अब फेरि तिमी आफिसमा हराएको फाइलसितै

कहिले रुने छैनौं,

रोगाएका तिम्री पत्नीसित तिमी आफै पनि मर्नै छैनौं।

फाइल तिम्रो जीवन हॉंस्छ,

तिमी जीवनको फाइल हॉंस्छौ।

(रचनाकाल 2002 सन्)         ------0000------

गुणातीत

 न तृष्णा छ, न भोक छ,

पानी नपिएर पनि तिर्खा मेटिएकै छ,

भोजन ग्रहण नगरेर पनि अघाएको छ।

शुद्ध भोजन पहिले ग्रहण गरिएकै हो,

शुद्ध भोजन गरिएको आभास यहॉं हराएको छ तर,

आफ्नो धर्म र सम्प्रदाय कसैले ऊँच हो भनी बताइदिएकै थियो,

तर यहॉं आएर सबै वस्तु समानान्तरमा रुपान्तरित भएको छ।

चीसो मौसममा हात ठिहिराउँछ, घाममा शरीर भत्भति पोल्दछ,

तर यहॉं अनुभूतिले नातिशीतोष्णरुप धारण गरिसकेको छ।

अभिमान नै हराएको छ, अहंकार नै मासिएको छ।

धन सम्पतिको राश आफूसित भएर पनि,

त्यो मेरो होइन भन्ने ज्ञान पलाएको छ।

आफूसित सबै भौतिक सम्पदा भएर पनि,

त्यो मेरो होइन भन्ने भाव पलाएको छ।

यहॉं कोही शत्रु हुँदैनन्, यहॉं कोही मित्र हुँदैनन्,

सबै एकै हुन्, भिन्नता केही होइनन्, फरक केही होइनन्,

यहॉं आइपुगेर वैंशको लालसा शेष भएको छ,

वैश र जवानी अझै रहे तापनि यहॉं कुनै अर्थ छैन।

यहॉं तमोगुणी भाव छैन, यहॉं रजो गुणी भाव छैन,

न ता सतो गुणी भाव पूर्ण भएर अहंकारले मात्तिएको फेरि छ।

यहॉं त जे जस्तो छ, त्यो प्रकृतिको स्वरुप नै त्यस्तै छ,

यहॉंको रीत र गतिशीलतामा आफ्नो रत्तिभर हस्तक्षेप छैन,

 आफू नरहेर पनि यो संसार चलेर नै रहने छ भन्ने भाव छ।

आफू हुनुको अर्थमा सबैको हितैषी बनिदिनु भन्ने अर्थ

व्यापक र गहकिलो  भएको छ।

यहॉं आइपुगेर अब -

भौतिक निर्माण र आध्यात्मिक निर्माणको सन्तुलन खोजिएको छ।

यहॉं आएर भुलहरूलाई स्वीकार गरेर,

सुधारहरू खोजिएका छन्,

यहॉं आइपुगेर अब -

आहारको शुद्धता र सतोगुणको चाहनालाई दर्शाइए पनि,

जीवनका सबै तीता मीठा

अनुभव र भावहरूलाई जितिएको छ,

इन्द्रियहरू अब बन्द छ विवेकको कारावासमा,

हात अब आफै चल्दैन, विवेकले चलाइन्छ,

खुट्टा अब आफै हिंड्दैन, विवेकले चल्दछ।

हात आफै चल्दा कस-कसलाई

व्यर्थमा स्पर्श गरिएको छ,

खुट्टा आफै हिंड्दा कता कता हिंड़िएको छ।

कानले जे सुक्कै सुनिएको छ,

आँखाले जे सुक्कै हेरिएको छ,

मुखले जे सुक्कै बोलिएको छ।

यहॉं आएर एकाएक यी सबै ठक्क अड़िएको छ,

विवेकको साङ्लोमा आफै आफ बन्द भएको छ।

अब जिब्रोले मिठास गर्दैन,

जे पनि भोजन गर्नुसक्छ,

बॉंचुलाई मात्र खानुपर्छ भन्ने जानेको छ,

अब जे सुक्कै कुरो सोचु हुँदैन भनेर,

मस्तिष्कले पनि राम्ररी जानेको छ,

त्यसले सत्य, धर्म र आध्यात्मिकता एवं परोपकार मात्र

सोचे भएको छ।

तीतो पिरो आहारको अब दास छैन यो शरीर,

नकारात्मक विचारधाराको नोकर छैन अब यो मस्तिष्क,

भोक विलासिताको संस्कार र आदत बॉंचेको छैन अब यो जिन्दगी,

यहॉं आइपुगेर अब आफू र मानव जगतको हितमा

लागिपरेको छ यो जिन्दगी।

रीस, राग, द्वेष र सन्तापको चापले

यो जिन्दगी अब छट्पटाउने छैन,

कुनै प्रतिस्पर्द्धा र कुनै भिड़न्तमा

यो जिन्दगी अब फँस्ने छैन,

यति बेला मान्छेले मान्छेको मूल्य गर्नुपर्छ,

यति बेला आफैले आफैलाई अन्वेषण गर्नुपर्छ,

सबै भौतिक गुणहरूलाई जितेर विजयेन्द्रिय बन्नुपर्छ,

जिउँदो शरीरमा नै देवत्वको आभास बॉंचुपर्छ।

मान्छे प्रेम बोल्नु पर्छ

 बोल्नु पर्छ मान्छेले, तर जताभावी बोल्नु कहॉं हुन्छ?

मनको पीर पोखाउनुपर्छ, तर गॉंठो सबैतिर खोल्न कहॉं हुन्छ?

बोल्दा तौलेर बोल्नुपर्छ आफ्नो ओजन बोलीको,

बोल्दा आफ्नो हैसियत बोल्नुपर्छ प्रतिक्रिया सम्झेर भोलिको,

आज बोल्दा अहिले के हुन्छ र भोलि के हुन्छ?

बुझ्न सक्ने विवेक नभएको सँधै फत्फताउँदै बोल्छ,

बोल्नेको पिठो त बिक्छ,

खरो बोलीले विकेको पिठोमा धुलो पर्छ

युग-पुरूषहरू दर्शन बोल्छन्, भविष्य बोल्छन्।

साधु सन्तहरू चिन्तन बोल्छन् -आत्मा बोल्छन्

रक्सीले मातेका विरमाइला मान्छेहरू

सर्वदा मृत्यु बोल्छन्। चिहान खोतल्छन्।

विद्रोह बोल्न सक्नु पर्छ,

अन्याय बोल्न सक्नु पर्छ।

रहस्य खोल्नु सक्नु पर्छ

अधिकार खोजु सक्नु पर्छ।

नबोलेर फेरि कोही लाटो छ,

र उसालाई शासन गर्ने जति बाठो छ।

मन्छे मस्तिष्कको गंगामा नुहाएर

विचारहरू पखालेर शुद्ध बोल्नु पर्छ,

मान्छे जिब्रोको नियन्त्रणमा शब्द जोखेर

जीवन -सारका अर्थहरू बोल्नु पर्छ।

मान्छे ईष्या बोल्नु भएन,

मान्छे रीस बोल्नु भएन

मान्छे आगो बोल्नु भएन

मान्छे युद्ध बोल्नु भएन।

माछे: सरस्वतीको सुमधुर वीणा झंकार बोल्नुपर्छ

मान्छे समुधार संगीतको सुप्रवाह बोल्नु पर्छ

मान्छे नि:शब्द पनि बोल्नु सक्नु पर्छ

मन्छे शान्ति मात्र बोल्नु सक्नु पर्छ

मान्छे प्रेम मात्र बोल्नु सक्नु पर्छ।

मान्छे हावाको मन्द गतिमा झुल्ने

पुष्प वाटिकाको रूप जस्तै सुगन्ध बोल्नुपर्छ।

मान्छे दया बोल्नु पर्छ

दान दिन नसके पनि,

मान्छे आशीर्वाद बोल्नु पर्छ

उपहार चड़ाउन नसके पनि।

राम्रो वचन, सार अमृत- वाणी, शुभ-समाचार

बोल्नु मात्र बोली सम्झनु पर्छ,

बोली बचन विग्रेपछि, विक्रनु मान्छे कति लाग्छ?

मान्छे यसैले शुभ बोल्नु पर्छ,

अशुभहरू मौन धारण गरेर पखाल्नु पर्छ

अमिथ्या बचनहरू आफैभित्र मार्नु पर्छ,

विसन्चो क्षणहरू र दु:खद पलहरूलाई धैर्य्यसंग सम्हाली,

मान्छे सर्वदा सुख बोल्नु सक्नु पर्छ,

मान्छे सर्वदा मुश्कान बोल्नु सक्नु पर्छ।

बोल्नु त मान्छेे बोल्नै पर्छ

आफ्नो मुख खोल्नै पर्छ

तर बोले पनि मान्छे प्रेम बोल्नु पर्छ

तर मुख खोले पछि मान्छे सुवास फैलनु पर्छ।

(प्रकाशित पुस्तक शब्द ब्ह्माण्ड-बाट)

- -विजय बान्तवा

 

निराकार

 

निराकारको आकार छैन तर पनि अनुभूति प्रशस्त छ,

त्यो हुनुको आभास छ,

समाहित सबै सृष्टिको अन्तिम निष्कर्श त्यो छ,

निराकार- महाशून्यताको गर्भमा लमतन्न छ,

अनन्तसित विस्तारित छ,प्रकाशित छ,

मनहरू सबै रुपान्तरित छ निराकारसित,

इच्छा, आकांक्षा र सपनाको अन्तिम सत्यमा

अड़िएको छ निराकार,अनन्तसित अनन्त अंगालो हालेर

आनन्दमा अति रमाएको फेरि छ निराकार,

इच्छाका मालाहरू पहिरेर,

सपना र विपनाका लिस्नोहरू लगाएर,

उँभो उँभो मान्छे हिंड़्दै

एउटा बिन्दुदेखि अर्को बिन्दुसम्म

शरीर पाएर फेरि शरीर हराएसम्म

छॉंया सरह अदृश्य शक्ति कॉंचुली आफू  फेरेर

अविनाशी निराकारको दहमा लिप्त हुन,

भर्‍याङ चढ़्दै सत्यताको अभियानमा

कृष्णले दिव्य दर्शन गराए जस्तो अर्जुनलाई

महाभारतको युद्ध भूमीमा,

जो पनि मर्नलाई खुशी मानिरहेको छ,

महासागरमा पस्नलाई अत्तालिदो छ,

बाक्लो रातमा उज्यालो टुकी पाएर,

रमाएर पुतली त्यति पोलिएर मर्न तयार सरह,

मनहरू, इच्छाहरू, सपना अनि विपनाहरू सबै

निराकारमा बिलाएर मान्छेको अस्तित्वको शक्ति

कसरी रुपान्तरित हुँदो छ,

कसरी खारिन्दो छ एक- एक,

मायाका सबै लीलाहरू,

तृष्णाका हर्हराउँदो अनुभूतिहरू

प्यालाभरिका मृगतृष्णामा छच्छल्किरहेका अमृत रसहरू,

घोप्टिन्दैछ क्रमश, पोखिन्दैछ क्रमश निराकार खाड़लभित्र,

जीवन सकिएर पनि शक्ति सकिरहेको आभास छैन,

मृत्यु भएर पनि मरेको अनुभूति छैन,

महा शून्यता, निस्सारता र अनन्त बाक्लो निराकार दहभित्र

आफू हराएर शक्तिशाली बनिन्दै जानुमा

जीवनको महानता बोध त्यहॉं छ,

यस्तो विश्व खड़ा छ त्यो जहॉं सबै तत्वलाई जितिएको छ,

सबै रहस्यलाई उघारिएको छ, वा विसर्जन पनि छ,

विलीन हुनुको ठूलो उद्घाटन सत्य छ,

कोही मरेका छैनन् यहॉं अहिलेसम्म जन्मेका,

कोही हारेका छैनन् यहॉं अहिलेसम्म जितेका,

शब्दहरू पनि समर्पण छन् यहॉं,

भावहरू पनि समर्पण छन् यहॉं,

समाधीस्थ छन् स्थितिहरू, परिवेशहरू यहॉं,

मान्छेले अन्तिम लक्ष्य पाउनु भनेको,

अन्तिम सत्य भेट्नु भनेको नै,

निराकारमा आफू अनुवाद भएर, आफू निराकारजन्य भएर

अविनाशी शक्ति फेरि त्यहॉं थपिनु अनि सजिनु रहेछ,

भगवानहरूसित आफू पनि भगवान मिसिनु रहेछ,

पवित्रतामा आफू पनि पवित्रता अमृत बनिनु रहेछ।

दु:खहरूलाई बिदा दिएर सुखानुभूतिमा बिलीन हुनु सदालाई,

असत्य र मिथ्या संसारलाई छोड़ेर सत्यतालाई अगाल्नु

अनन्तलाई,

निराकारको सद्धे आभास आत्मानुभूतिको विवेकसित,

अमरत्वको पीयुष पिएर, संजीवनीको शक्ति पाएर,

करोड़ौ महासागर, सौर्यमण्डल र नभमण्डललाई पनि जितेर,                                                       -नाघेर,

प्राप्त अन्तिम सत्य निराकार र शून्यताको सम्पूर्णता,

नितान्त अनन्त ओड़ेर बसिरहनु छ

विस्तृत शक्ति अविनाशी बॉंचेर,

निराकार सुमीरण, निराकार चिन्तन, निराकार आभास,

क्रमश: अब अभियान बनेको छ लौ मान्छे भएर,

सत्यता धारण गरेर तर्दै जानु रहेछ अन्तिम लक्ष्यतिर,

शरीर छोड़ेर पनि मान्छेले निराकार, शून्यतातिर क्रमश: अनन्त...अर्को जीवन बॉंचु रहेछ

वा बॉंचु र मर्नु नभएर समाहित हुनु रहेछ,

निमग्न हुनु रहेछ, संलग्न हुनु रहेछ।

यसैले जन्मनु आउने बालकहरू,

यता मर्नु होइन सम्मिलित हुनु आऊ,

देउता हुनु सिकेर भगवान भिजु आऊ,

भगवान भिजेर भगवान फैलिनु आऊ,

जन्मसित मृत्युको अमृत पिएर मीठो निरवता चाख,

निराकार शक्तिमा मिलेर कहिले पनि फेरि मान्छे जन्मनु छैन,

मान्छे भएर भगवान हुनु पाउने जीवन

-त्यसैले बिगार्नु पनि छैन।

अहो--- लौ कस्तो मीठो  निराकार छ अमृत चाख, चाख।

सबैले चाख, चाख्नैपर्छ, निरवताको प्रसाद, निराकारको अमृत

सञ्जीवनी धारण गर्नलाई अथाह अनन्तमा।

(प्रकाशित पुस्तक शब्द ब्ह्माण्ड-बाट)- -विजय बान्तवा

 

हरियो गाउँभरि निमग्न आफू

 बादलहरूसँग लड़िबड़ी गर्ने मन,

हरियाली चियाबारीसँग साइनो केलाएर,

सुस्केरा हाल्न मन लाग्ने क्षण,रुखहरूसँग, खोलाहरूसँग बॉंचे मन,

अँगालो हालेर माया पोखाउने मधुर वन,सड़क किनार वरिपरि भरिएका,

थुम्का थुम्का हरिया गाउँ,प्रफुल्ल प्रफुल्ल रहेका जनगण,

वेहद रमाइपठाएका छौं,रमाइला यी पाखाभरि।

यी उज्याला परिवेशभरि अझै बॉंचुपर्छ, हॉंस्नुपर्छ भन्ने गाउँ,

थपक्क उभेका बज्यैको छाप्रो,माटोले चिटिक्क लिपेको भित्ता,

अहँ यहॉं मलाई जीवन दु:खेसो छैन,

जीवन आघात पटक्कै छैन बाबु, दु:खेको नै जीवन किन नहोस्,

यो हरियो गाउँ हॉंस्दो रहेछ।

यो हरियो पाखा मानिस नाच्दो रहेछ।

आफूसित केही नभएर पनि,धेरै भएको छ- धेरै,

पाइएको छ भन्ने सन्देशमा

फूलहरू फुलेका छन् मग्मग्, ढक्कमक्क,

मौलाएका छन् बाली सतह सतह, लह लह,

आँखा लोभ्याउँदै हरियो गाउँका रमाइला छटा, छटा,

पर्वतले मायालु चुम्दै नीलो आकाश

कोरिएको क्षितिज धर्सा धर्सा,

सेता कुइरा, सादृश्य सिमलको भुवा टुक्रा टुक्रा,

बेहद प्रेमका शब्दहरू, मधुर संगीतको झरना गुञ्जन,

कल कल सरगमका स्वर लहरीहरू,

उन्मादित मनका तरंग लहरहरू,

आमा हिमालबाट  सुललित जन्मेका सरिता सलल,

मनको मधुर मृदंग बजाई रमाएका खोला खलल,

-मलाई यहीं हरियो गाउँमा-शान्तिको बास चाहिन्छ,

-यहीं मनोरम पाखामा शान्तिको साइनो चाहिन्छ।

म बूढ़ो आनन्दिलो अनुहारमा,शान्तिको चमक देख्दैछु,

म कलिलो मुश्कान-मुहारमा शान्तिको दीपक बल्दैछु।

निदाइरहन्छु म यो हरियो गाउँभरि निर्धक्क,शान्तिसित,

शहरको होहल्ला र प्रदुषणले खल्बलाउँन सक्दैन कति,

नक्कली मनका प्रतिच्छाया अंगालेर,

धेरै भोे शहरले मनका आनन्द-तरंग अपहरण गरेको,

आज म निर्धक्क यतै हराउँछु, यतै बिलाउँछु,

हरियो टारभरि जीवन खोज्छु,

हरियो पाखाभरि स्पन्दन धड़किन्छु,

मायालु हातहरू हल्लिरहेछन्, पवनमा पवित्र पात सरह,

म गाउँमै बस्छु बाबु, म हरियो गाउँमै बस्छु,

गाउँका हरियो रुख र पाखाहरूसँग बस्छु।

मैंले गाउँका प्रत्येक रुखहरूसँग

कहिल्यै नमेटिने आत्माको मित्  लगाइसकेको रहेछु,

मैंले गाउँका प्रत्येक मझेरी, पधेंरो,

कहिल्यै बिर्सिनसक्ने सुसेली-गीत गाइसकेको छु।

म गीत गुन्गुनाउँदै शान्तिको उज्यालो काखमा

निर्धक्क निदाउन र जन्मन-मर्न सक्ने भएको छु

अनि आनन्द-लहरभरि झुम्दै विचरण गर्ने भएको छु,

गाउँमा मान्छेको आत्मीयताको पवित्र फूल फुल्दो छ,

गाउँमा उदारता र प्रेमको वृक्षले

लहलहाउँदो निस्वार्थ फल फल्दो छ।

यो गाउँ कोलाहल र प्रदुषणदेखि धेरै दूर-

मानवताको साइनो किन्बेच हुने शहरदेखि अलग,

तपस्वीहरूको तपोवन सिद्ध छ,

पाप र छलकपटको आभासदेखि कोशौं दूर

पवित्र आत्मा-संगमको   साक्षात् इन्दकील छ।

गाउँ ह्न अहिले रम्य हरियाली आँगनको बहारमा

प्रकृति नै रमाउँदो विशाल वन-महोत्सव आयोजन छ,

गाउँ त्यसैले अहिले मेरो हृदयमा

विशाल ब्रह्माण्डको एउटा गुफा व्याप्त छ।

-नानीहरू हॉंसी हॉंसी आनन्द आँगनमा रम्दैछन्।

- वृद्धाहरू नाची-नाची आनन्द-बारीमा निमग्न छन्।

परार सॉंचेका वीजहरू आगुमलाई छर्दैछन्।

युवतीहरू लयालु भई गाग्रोभरि भरि अमृत-जल भरेर,

सॉंझपख हल्लाउँदै सेता हातहरू प्रेमका-

पँधेरोभरि सल्बलाउँदो मन हिँड़दो छ,

युवाहरू उमंगका प्रतीक, हरियो मनको पंखा उमारेर,

शक्ति र सामर्थ्यको मन-बिनोदी खेलमा मस्त मस्त ।

यो गाउँ जहॉं शहरको धूवॉं समेत उड़ेर,

एक टुक्रा बादलमा धरि भिजेको छैन

=नभिजोस् पनि, नमिलोस् पनि।ळ

यो गाउँ जहॉं शान्त र शितल वातावरणभरि

हरिया-हरिया चियागॉंछहरूसँग हातेमालो गरेर

अंगालोमा फेरि बॉंधिएर निमग्न छ,

साइनो गॉंसेर पुलकित छ,प्रसन्नचित्त छ।

म त्यहीं आफूलाई रमाउन हराउँछु,म त्यहीं आफूलाई लुकाउन पाउँछु।

म अहिले अति शान्त ध्यान योगभरि गाउँको आयतनभरि छरिन्दो छु।

म यहीं हरियो गाउँमा हराउँछु,म यहीं हरियो गाउँमा बिलाउछु,

म सुस्त सुस्त लुक्छु,म सुप्त सुप्त निदाउँछु।

अहिले म गाउँभित्र छु अनि मभित्र पवित्र गाउँ छ।

पुलकित मनभित्र आनन्दसित गाउँ मभित्र पसिरहेछ।

सलल सरोवरको चोखो गाउँमा म अनन्त नुहाउँदै छु,

सरर पवनको शितलतामा म  अहिले समाधीस्थ छु।

म गाउँमै बस्छु बाबु, म हरियो गाउँमै बस्छु,

गाउँका हरियो रुख र पाखाहरूसँग बस्छु।

(प्रकाशित पुस्तक शब्द ब्ह्माण्ड-बाट)- -विजय बान्तवा