sikkim news darjeeling news indian gorkhas      Himgiri Nepali home     नेपाली लेख तथा समाचार

 

 

 

 

सिक्किममा विभिन्न दलहरूमाझ आरोप प्रत्यारोप

मन्त्री सुब्बा भर्सेस्  विधायक गोले, भण्डारी भर्सेस्  उप्रेती

-विश्लेषण

 

गान्तोक, : सिक्किमको राजनीतिक परिदृश्यमा थोरै राजनीतिक दलहरूको सक्रीयता भए तापनि बेलाबखत् वाद विवाद र आरोप प्रत्यारोपको बगुन्द्रो र भुङरो ओइरिने गर्दछ।गत सप्ताह सत्तारुढ़ दल, असन्तुष्ट विधायक दल र कांग्रेसी खेमाबाट व्यक्त बयानबाजीले यहॉंको वातावरणमा केही राजनीतिक तापमान बढ़ेको थियो। सिंङलिङमा एक दलका मानिसले अर्को दलको मानिसमाथि खुकुरी प्रहारको आरोप तथा मन्त्रीको वाहनमाथि क्षति गर्ने काण्डलाई लिएर सत्तारुढ़ र असन्तुष्ट विधायक दलको खेमामाथि चर्काचर्की बढ़ेर गएको थियो।

विधायक पीएस गोलेका समर्थक ज्याकोब खालिङले मन्त्री रनबहादुर सुब्बामाथि आरोप लगाउँदै सिङलिङ काण्डमा प्राथमिकी दर्तामा मन्त्रीको पनि नाम उल्लेख भएकोले थानामा बयान दिनुपर्ने बयान दिएका थिए भने सिङलिङ काण्डमा आफ्नो हात नरहेको बयान मन्त्रीले दिएका थिए।उता विधायक गोलेले पनि सत्तारुढ़ दलका नेताहरूले नै आफ्नो पार्टीको संविधानको उल्लंघन गरेको आरोप लगाएका थिए भने सत्तारुढ़ खेमाका प्रवक्ता तथा सांसद पीडी राई, प्रवक्ता भीम दाहालले विधायक गोलेको राजीनामाको माग गरेका थिए।जवाफमा गोलेका असन्तुष्ट दलबाट गोलेलाई सत्तारुढ़बाट हटाएर देखाउने समेत खरो चुनौतिको बयानबाजी पनि भएको थियो।

उता प्रदेश कांग्रेस आई दलबाट पूर्व मन्त्री तथा कांग्रेसी नेता के.एन.उप्रेतीलाई सो दलबाट उनले दल विरोधी काम गरेको आरोपमा निष्कासन गरिएको घटना प्रमुख रह्यो।कंग्रेसका विक्षुप्त गुटबाट यसको प्रतिक्रिया स्वरुप भण्डारीको नेतृत्व भएको प्रदेश कांग्रेस आईबाट निष्कासित हुँदा केही फरक नपर्ने तर दिल्लीबाट यसबारे केही नभएको जनाएका थिए।

आरोप प्रत्यारोपको यो सिलसिलाले भने अब तीन वर्षपछि आउने सिक्किम विधानसभाको चुनाउको लागि आधारहरू बनाउँदै लगिरहेको एकातिर देखा परेको छ भने सिक्किमको राजनीतिमा अब ठोस मुद्धा बिना कुनै पनि दलहरू जन समर्थन प्राप्त नगर्नु सक्ने निश्चित पनि देखिएको छ।बढ़्दो बेकारी समस्या र कतिपय असन्तुष्टताले सिक्किमलाई घेरिरहेको भए तापनि विपुल असन्तुष्टताको राजनीतिक आँधी भने सिक्किममा अहिले आएको छैन।धेरै जसो विकासीय कार्यहरू ठीकसित नभएको, कतिपय उद्योगहरू जन अपेक्षा अनुसार सिक्किममा स्थापना नभएको आदि विषमताहरूले भने भविष्यमा नकारात्मक प्रभाव पार्ने ठाउँ रहेको छ।अहिले सिक्किममा सबै समुदायको हितमा अझ सक्रीय अभियान सरकारले थाल्नु पर्ने साथै अझ विकासीय कार्यहरूलाई जीवन्त र ठोस रुप दिनु सबै शक्ति र विवेक लगाउनु पर्ने चुनौति रहेको छ भने विपक्षीहरूबाट पनि आन्तरिक कलह र आपसी झगड़ा र माम्ला भन्दा सकारात्मक राजनीतिक गतिविधि र भूमिकाको आवश्यकतालाई महसूस गरिएको छ।

किन बढ़दैछ दुराचारीहरू सिक्किममा?

 गान्तोक, अप्रेल 2: बुद्धिजीवीहरू र स्वतन्त्र नागरिकहरूले सही कुरो बोल्नुपर्छ नत्र सिक्किममा मूर्खहरूको बोलबाला चल्छ भनेर मुख्यमन्त्रीले विगतका स्वाधीनता दिवसको आफ्नो वक्तव्यहरूमा भनेका छन्। सिक्किममा अहिले किन दूराचारीहरूको संख्या बढ़्दैछ, यौनकर्मीहरूको संख्या बढ़ेर अब 750 भइसकेको र 1 हजारको सूचांक पार गर्नु लागेको, एच् आईभीको रोगले 205 जनालाई भेटिसकेको तथा नशा वा ड्रग सेवन गर्नेहरूको दिन गुणा चौगुणा वृद्धि भइरहेको कुरो अहिले चिन्ताको विषय बनेको छ।

यौन कर्मीहरूलाई कुन घर मालिकहरूले आश्रय दिइरहेका छन्, कुन होटेलहरूमा उनीहरूको धन्धा चलिरहेको छ भन्ने कुरा राज्यको खुफिया तन्त्र सहित समाजको पनि हो।विशेष गरी शरीर बेचे धन्धाहरू गान्तोक वरिपरि तादोङ डॉंड़ागाउँ, देउराली, 5 माइल, रानीपुलसम्मै फैलिएको र विशेष गरेर एक ठाउँदेखि अर्को ठाउँमा जाने गान्तोकदेखि सिलगढ़ी कालेबुङ, दार्जीलिङतिर झर्ने धन्धामा लिप्त रहेको जानकारी पनि मिडियाहरूबाट आइसकेको छ।

विशेष गरेर आफ्नो बस्ने घरबाहेक पनि फाल्तू घरहरू बनाएर भाड़ामा घर दिनेहरूको संख्या तादोङ, माथिल्लो सिञ्चे, विकास क्षेत्र, तादोङ 6 माइलदेखि रानीपुल बीच बढ़ेर गएकोले यस प्रकारको धन्धा चलिरहेको जानकारीमा आएकोछ।

यौन व्यापारसितै ड्रगको धन्धा पनि सिक्किममा फस्टाइरहेको छ।अहिले केवल यहॉं यौनकर्मीहरूको संख्या मात्र हजारको संख्या पुग्नु लागेको कुरो भइरहेछ तर समाजका भद्र पुरुष कहलाउने व्यक्तिहरू र दूराचारीहरूको पनि यहॉं संख्या गणना भएको छैन।यस बाहेक पनि पर्यटकको रुपमा सिक्किममा आएर यस्तो धन्दा गर्ने तथा ब्लू फिल्म यहॉंको स्थानीय केटीहरूको बनाएर विदेशतिर पठाउने गिरोहलाई पनि चिन्हित गर्ने र पक्राउ गर्ने काम हुनु सकेको छैन।पुलिसलाई पुलिसको भेषमा मात्र होइन, जनताको भेषमा पनि पठाउनु पर्ने तथा कड़ा निगरानी राख्नुपर्ने आवश्यकता पनि छ।पुलिस भनेको वास्तवमा नै जनताले नै जनताको हितको लागि आवश्यकताबोध गरेर जन्माइएको पद हो, तर आज पुलिस जनताको हित र मित्र भएर उदाहरण पेशहरू गर्नु पर्ने अझ आवश्यकता भएको समाजले महसूस गरेको छ।

 

मुख्यमन्त्री चामलिङमाथि विदेशीको आरोप दिल्ली अदालतद्वारा खारेज

सिङ्ताम: 16 मार्च। (नन्दु दूतराज)  राज्यको विपक्षी पार्टी भारतीय जनता पार्टीका अध्यक्ष पदम बहादुर छेत्री अनि पार्टी उच्चपदस्थ कार्यकर्ता पदम प्रसाद छेत्रीले राज्यका मुख्यमन्त्री डा. पवन चामलिङमाथि दिल्ली उच्च न्यायालयमा लगाइएको दोहोरो नागरिकताको मुद्दालाई हिज कोर्टले खारेज गरेको पार्टी सूत्रद्वारा थाहा लागेको छ। यसै विषयमा सिङ्तामस्थित एसडीएफ पार्टी शाखा कार्यालयमा क्षेत्र विधायक एम प्रसाद शर्मा, सिङ्ताम नगरपञ्चायत पार्षद् सावन प्रधान, मिनाकुमारी छेत्री, विष्णुमाया शेर्पा, अनिता तामाङ, रामनरेश प्रसाद, कोअर्डिनेटर सुरेश प्रधान, विनोद पाण्डे, गुप्ता सुब्बा, उप-संयोजिका मनमाया गुरूङ, पूर्व जिल्ला युवा उप-संयोजक तेञ्जिङ शेर्पा, सिईसी सदस्य कृष्ण छेत्री अनि भारी संख्यामा पार्टी कार्यकर्ताहरूको विशेष उपस्थितिमा पटेखा पड़काएर हर्ष प्रकट गर्दै मुख्यमन्त्रीप्रति बधाई टक्राए। यस अवसरमा विधायक शर्माले यो जित सत्यको जित रहेको दावी गर्दै मुख्यमन्त्री पवन चामलिङ सदैव गरीब जनताको सेवा गर्ने एक सत्यवादी सेवक रहेकोले आज उहॉंको सत्यको जित भएको छ, जसको निम्ति हामी सम्पूर्ण सिक्किमे जनताले हर्ष प्रकट गर्नुपर्ने बताए। हाम्रा नेतालाई यसरी नचॉंहिदो र गलत दृष्टिकोणले हेर्ने व्यक्तिहरूसित सबै सचेत र सतर्क रह्ने पनि विधायक शर्माले सुझाउ दिएका छन्। यसरी नै तुमिन- लिङ्गीका विधायक एवं राज्य सरकारका मुख्य सचेत उगेन टी. ग्याछो भोटियाको विशेष उपस्थितिमा पनि हिज सॉंझ यहॉंको साङ्ग्रिला होटल अघि  सिङ्ताम बजारमा पटेखा पढ़काएर मुख्य मन्त्रीको जितमा सबै पार्टी कार्यकर्ताहरूले हर्ष प्रकट गरिएको थाहा लागेको छ।

स्मरणरहोस्, मुख्यमन्त्री चामलिङ भारत र नेपाल दुइ देशको नागरिकता रहेको आरोप लगाउँदै बीजेपीका अध्यक्ष पदम बहादुर छेत्री अनि पदम प्रसाद शर्माले दिल्ली उच्च न्यायालयमा मुद्दा हालेका थिए।

दुई गुटको झगड़ामा विधायकको गाड़ीमा हम्ला

गान्तोक, प्राप्त जानकारी अनुसार सत्तारुढ़ सिक्किम प्रजातान्त्रिक मोर्चाका समर्थक तथा सिङलि-सोरेङका विधायकका समूह र सो इलाकाको वर्तमान विधायक रनबहादुर सुब्बा र सत्तारुढ़ दलका विक्षुप्त विधायक प्रेमसिङ्ग तामाङ वा पीएस गोलेका समर्थकमाझ झगड़ा हुँदा एक व्यक्ति गम्भीर रुपले घाइते भएको र विधायकको गाड़ीमा हम्ला गरी विक्षुप्त व्यक्तिहरूले क्षति पुराइदिएको छ।

गत 18 मार्चको बेलुकी सो घटना भएको जानकारी दिंदै पीएस गोले समुहको एक कार्यकर्ताले बयान गरेको विज्ञप्तिमा सो हम्ला वर्तमान सत्तारुढ़ दलको घट्दो जन समर्थनको हताशाको कारण भएको आरोप लगाइएको छ तथा विधायकको आफ्नो क्षेत्रको भ्रमणमा त्यति सौहार्दमूलक स्वागत नभएको कारण पनि उनको समर्थकहरूले हम्ला गरेको जनाइएको छ।

एसडीएफ दलबाट यसबारे अहिले यो समाचार लेख्दासम्म बयान नआए तापनि यस प्रकारको आपसी हम्ला राज्यमा निन्दनीय रहेको पर्यवेक्षकहरूले जनाएका छन्।

सिक्किममा नशालु पदार्थको ओसार पोसार

गान्तोक, मार्च 18: सिक्किममा नशालु पदार्थको ओसार पोसारको सिलसिला पुलिसले कैयन् व्यक्तिहरूलाई पक्रे पनि जारी रहिरहेको छ।राज्यदेखि बाहिर सिलगढ़ीबाट आइरहेको एउटा गाड़ी तलासी लिंदा वाहनको पछाड़ीपटि लुकाइराखेको 390 एन.टेन. अनि 1284 क्याप्सुल स्प्रेमोप्रोक्सीवन फेला पारेको छ। सो वाहन संख्या 02-7189का चालक 31 वर्षीय कर्णबहादुर खाती र रम्फू बजारका एक युवक 31 वर्षीय राजेश दर्जीलाई पनि पुलिसले पक्राउ गरेको छ।उनीहरू विरुद्ध ड्रग ओसार पोसार विरुद्ध ऐन अन्तर्गत मुद्धा दर्ता गरिएको छ भने वाहन पनि कब्जामा लिएको छ।

 

पुष्प प्रदर्शनीमा मिलन राई  प्रथम

गान्तोक, मार्च 17: सिक्किमको पुष्प उत्सवको अवसरमा आयोजित प्रतियोगितामा पुरस्कारको हालै घोषणा भएको छ। दार्जीलिङ, मिरिकका निवासी मिलन राईले यसपालि पनि आफ्नो विशिष्ट पुष्प प्रर्दशनीमा पुरस्कार प्राप्त गरेर लगातार 6 पल्टसम्म पुरस्कार प्राप्त गर्ने व्यक्ति बनेका छन्, जसले अहिलेसम्म 6 लाख रुपियॉं पुरस्कार प्राप्त गरिसकेका छन्। हाम्रा सम्वाददाताले जनाए अनुसार उनले अहिले 70 वटा गमलामा जम्मा 45 थरी वा प्रजातिका पुष्पहरू यसपालि प्रदर्शनीमा ल्याएका छन्।प्रत्येक वर्षको 17 मार्चदेखि आयोजित राज्य पुष्प प्रदर्शनी अब सिम्बिडियम अर्किड पनि आयोजन गरिएको छ। यो सिम्बिडिय सुनखरीको प्रदर्शनी 17 मार्चदेखि 15 अप्रेलसम्म आयोजन गरिने वन संरक्षण विभागका सचिव एसटी लाचुङपाले पत्रकारहरूलाई जनाएका छन्।

यसपालिको पुष्पप्रदर्शनीमा जम्मा 787 गमलामा पुष्पहरू लगाइएको थियो, जसमा विभिन्न दल तथा व्यक्तिहरूले विभिन्न पुरस्कार पनि जितेका छन्।

दुई जना अमेरिकी प्याराग्लाइडर पुलिस हिरासतमा

गान्तोक, गत 18 मार्चको दिन नेपालबाट पश्चिम सिक्किम सीमानामा दुई अमेरिकन् पर्यटकहरू प्याराग्लाइडिङ गरेर उत्तरेमा झरेका थिए।सिक्किमको कुनै भागमा आउनुको लागि विदेश नागरिकहरूले इनर लाइन् पर्मिट हासिल गरेको हुनुपर्दछ तर यी दुई अमेरिकन् नागरिकहरूको साथमा सो दस्तावेज नभएपछि पुलिसले उनीहरूलाई पक्रेको छ।

थाहा लागे अनुसार उनीहरू नेपाल भएर सिक्किममा आउने कार्यक्रम रहेको थियो, तर उनीहरू स्वयं आएर इनर लाइन् पर्मिट नबनाएर अरू कसैले सोही दिन इनर लाइन पर्मिट बनाइदिएको अनि यो कार्यसित यहॉंको दुई जना स्थानीय व्यक्तिहरू पनि संलग्न रहेको कुरो जानकारीमा आएको छ। पुलिसले ती जनालाई पनि पक्राउ गरी अहिले सोधखोज गरिरहेको छ। 

सिक्किम-सिलगढ़ीमा बढ़दो यौन कर्मी-केटी  लैजाने गुट सक्रीय

गान्तोक, 30 अक्टोबर:(हिस): सिक्किममा अहिले एड्स् रोगीहरूको संख्या लगभग 200को आंकड़ा पुग्दैछ भने सिक्किम-सिलगढ़ीको मार्ग भएर ओहोरदोहोर गर्दै वेश्यावृति गर्नेहरू अथवा यौन कर्मीहरूको संख्या पनि लगभग हजारको संख्यामा रहेको गैर कतिपय सरकारी प्रतिष्ठानहरूको स्वतन्त्र खोजीबाट थाहा पाइन्छ।

विशेष गरी डुवर्स,सिलगढ़ी तथा अन्य राज्यहरूबाट दलालहरू कुनै न कुनै कामको निहुँ गरेर दिन्हौ सिक्किममा पस्ने गरेको छ। धेरै जसो कुल्ली तथा घर निर्माणका काठपाठ, बिजुली जड़ान गर्ने, पानीको पाइप गर्ने, सिमेन्ट र ढलाइको काम गर्ने मिस्त्री रहेको छ भने कतिपय युवतीहरू होटेलतिर काम गर्ने बहाना बनाएर राज्यमा भित्रिने गरेको थाहा लागेको छ।

 

नाम्ची महोत्सवमा मुख्यमन्त्री चामलिङको वक्तव्य

सामुहिक दायित्व बिना सर्व कल्याण असम्भव

गान्तोक, 29 अक्टोबर: (हिस): अत्यन्त उत्साहको साथमा सातौं तीन दिवसीय नाम्ची महोत्सवको उद्घाटन गरेपछि मुख्यमन्त्री डा. पवन चामलिङले स्थानीय वासिन्दाहरूको कम सहभागिता रहेको बारे आफ्नो सम्बोधनमा टिप्पणी गरे।वास्तवमा नाम्चीमा महोत्सवको पालन गर्दै आएको यो सातौं वर्षको अवसर थियो, जसमा राज्य सरकारको प्रमुख उद्देश्य नै स्थानीय पर्यटनको विकास गरी मानिसहरूलाई स्वरोजगारतर्फ प्रोत्साहन गर्नु रहेको छ। प्रथम दिनमा राज्य बाहिरका तथा विशेष विदेशी पर्यटकहरूको यहॉं उपस्थिति रहेको थियो भने स्थानीय वासिन्दाहरूको समोचित अनुपस्थिति हुनु वास्तवमा स्थानीय नागरिकहरूको उदासीनता तथा राज्य सरकारको कार्यक्रम र अभियानमाथि कम चासो हुनु वा कम सूचना हुनु हो भन्ने धारणा पर्यवेक्षकहरूको रहेको छ।

नाम्ची महोत्सवमा विशेष गरी मौसमीय पुष्प प्रदर्शनी, भोटे, लाप्चे, नेपाली वा सिक्किमको पारम्पारिक खानपानको व्यवस्था, सांस्कृतिक प्रदर्शनी, ट्रेकिङ वा पार्वतीय आरोहण, सांगीतिक सॉंझ, हस्तकला बिक्री तथा प्रदर्शनी, हेलिकोप्टरद्वारा आनन्दको उड़ान, विभिन्न रोमाञ्चकारी खेलहरू सामेल रहेको छ, जसमा स्थानीय मानिसहरू पेशागत् तौरले तैयार रही पर्यटकहरूको लागि सेवा प्रदान गरी पैसा आर्जन गर्नु सक्दछन्। सिक्किम सरकारको सांस्कृतिक एवं धरोहर विभागले वर्सेनी आयोजन गर्दै आएको यस प्रकारको आयोजनमा निश्चय बाहिरको पर्यटकभन्दा स्थानीय मानिसहरूलाई नै आनन्द र खुशीयाली लाग्नु पर्ने र त्यसमा सहभागिता हुनुपर्ने हो, तर आज सिक्किममा सरकारी सहुलियतको पछि कुद्ने र सरकारी ठिका विघामा मात्रै पछि लागेर छिट्टै धन संग्रह गर्ने तथा पश्चिमी सभ्यता तथा टेलिभिजनले ल्याएको सहुलियत र आधुनिक सञ्चार सुविधाको भरमा बॉंचे र कुनै परिश्रम र योगदान नगरी धन कमाउने मानिसहरूको प्रवृति बढ़ेकोले गर्दा नै यस प्रकारको कार्यक्रमहरूमा मानिसहरूको सहभागिता घटेर गइरहेको महसूस हुँदछ।

आज राज्यको दक्षिण जिल्लामा स्थित नाम्चीमा गुरु -ष्ःस् ुीफी 1्ीथ्द्म -रिम्पोछेको 135 फिट अग्लो र शिवको 125 फिट अग्लो प्रतिमाको स्थापना भइसकेको छ भने चार धाम पनि नाम्चीदेखि केवल 5 किलोमिटर टाड़ोमा अवस्थित रहेको छ।नाम्चीलाई अर्को पर्यटन केन्द्रहरू राभाङला, जोरथाङ तथा दरमदिनले पनि जोड़्दछ, यसो हुँदा यहॉं धार्मिक पर्यटनको पनि विकास भइरहेको छ।यस्तो पर्यटनको अवसरलाई स्थानीय वासिन्दाहरूले उपयोग गर्नु पर्ने जरुरी देखिएको छ, जसबाट उनीहरूले आत्म निर्भर बन्ने ठूलो दिशा तय गर्नु सक्नेछन्।

मुख्यमन्त्री चामलिङले यस्ता कार्यक्रमलाई केवल सरकारी र औपचारिक कार्यक्रम मात्र नठानेर सामुहिक हित र स्थानीय जनताको हितको पक्षमा नै आयोजन गरिएको बताए तथा केवल अधिकार मात्र खोजे तर आफ्नो जिम्मेवारी वहन गर्नु अघि नआउने प्रवृतिमाथि पनि खेद प्रकट गरे, जुन प्रवृति उनीहरूको हितमा नहुने कुरो जनाए।वास्तव सिक्किमको जन मानसमा आफ्नो बुता, प्रतिभा र मेहनतले गरेर तथा परिश्रमी बनेर अघि बढ़नु पर्ने प्रवृतिमा ह्रासता आएको कारण, नैराश्यता र आत्महत्या गर्ने प्रवृति रहेको, ड्रगसेवन तथा वेश्यावृतिमा वृद्धि भइरहेको विषय निश्चय नै चिन्ताको विषय छ भने यसबारे सॉंचो समाज निर्माण गर्ने जन सेवक र नेताहरूको कमी पनि खट्किएको छ, केवल सरकारी सहुलियत र ठिका विघाबाट धन संग्रह गर्ने अभियानले भने यहॉं जोर पक्रेर लगेको छ।धन पनि कमाउनु आवश्यकता अनुसार जरुरी रहेको साथै सामाजिक सेवा र सामुहिक दायित्व पनि वहन गर्नु पर्ने विषयमा सिक्किमको जन मानसमा चेतना नआएसम्म यहॉं सन्तुलित विकास हुनु नसक्ने संकेत छ।सिक्किमको सन्तुलित, मानसिक, आध्यात्मिक र भौतिक विकासको साथ साथै विकास गर्नु अति जरुरी रहेको विशेषज्ञहरू र नागरिक समाजको मान्यता रहेको छ।

सिक्किम पुलिसको आधुनिकीकरण गर्ने र रम्फू चेक पोस्टमा संशाधनको प्रश्न

गान्तोक, अक्टोबर 30: (हिस): सिक्किममा पर्यटनको विकास साथै निर्माण कार्यहरू पनि विगतको एक दशकभित्र दोबर, तेबर बढ़ेर गएकोले दिन्हौं नयॉं नयॉं मानिसहरू सिक्किममा प्रवेश गर्ने क्रमहरू अहिले बढ़ेर गएको छ।सिक्किममा काम गर्नु र घुम्नु मात्र यहॉं पर्यटक एवं मानिसहरू नआएर कतिपय अपराधिक मानिसहरू पनि प्रवेश गर्ने गरेको छ।पुलिसको आँखामा धुलो हालेर सिक्किम पस्ने यस्ता कतिपय दुष्कर्मीहरूमा यहॉंको गाउँको सिधा साधा तथा गरीब बालिकाहरू फकाइ फुस्लाइ गरेर नोकरी दिने लालचमा आउने दलालहरू, यौनकर्मीहरू, ड्रग ओसार पोसार गर्नेहरू, झुटो कम्पनी खोलेर पैसा कुम्लाएर भाग्नेहरू आदि असामाजिक तत्वहरूको रगरगी पनि निक्कै बढ़ेको छ।

यस्ता अपराधी-हरूलाई पक्रिनुको लागि अहिले सिक्किमको प्रवेशद्वार रम्फू चेक पोस्टमा बाहिरबाट आएको वाहनहरू चेक गर्ने कार्य थालेको भए तापनि 24 घण्टा नै खटिरहने पुलिस कर्मीहरूको संख्या भने आवश्यकताभन्दा कम रहेको छ।दिन्हौ हजारको संख्यामा सिक्किम पस्ने वाहनहरूलाई राम्ररी चेक् गर्नुको लागि कम्तीको पनि 10 जना पुलिस कर्मीहरू खटेको हुनुपर्दछ, जसले राम्ररी परिचय पत्र र यात्रुहरूको जॉंच गर्नु सकोस्, अल्छी नमानी गोटा गन्ती यात्रीहरूको जॉंचबुझ गरोस् तथा सामानहरूको पनि तलाशी लिने काम गरोस्।लामो तॉंतीमा आएको वाहनहरूलाई राम्रोसित चेक् गर्नु नपाइकनै छोड़िदिनु पर्ने बाध्यता अहिले घटाइएको तीन चार जना पुलिस कर्मीहरूमा देखिएको छ।

पुलिस कर्मीहरूको कमीमा कतिपय व्यक्तिहरू झुटो परिचय पत्र देखाएर प्रवेश गर्ने सम्भावना पनि रहेको छ भने यस पंक्तिकार धेरैपल्ट ट्याक्सी बाहनमा सिलगढ़ीबाट प्रवेश गर्दा फोटो कपी गरेको परिचय पत्र देखाएर पनि प्रवेश गरिरहेको कतिजनालाई अनुमति दिइएको थाहा लागेको छ।परिचय पत्र जस्तो विषय संवेदनशील हो तथा असली परिचय पत्र देखाउनु लगाएर साथै राम्ररी छानबीन गरेर मात्रैै सिक्किम प्रवेश गराउनु भने जरूरी छ।

यसको साथै रम्फू गेटमा नै सीटीभी लगाइनु जरुरी रहेको छ, जसमा पुलिसहरूले नजर दिनु नसक्ने अपराधीहरूमाथि 24 घण्टै नजर राख्नु सकोस्।

अर्कोतिर आधुनिक तकनीक तथा कम्प्युटर र इन्टरनेज जानेको पुलिस कर्मचारी रम्फू गेटमा 24 घण्टै हुनु आवश्यक छ। राज्यभित्र र देशभरिका अपराधीहरूको फोटो एक साथ कम्प्युटरमा हेर्नु सक्ने तथा जॉंच गर्नु सक्ने तथा कुनै ठाउँबाट एक घण्टा अघिमात्र भागेको कुनै मानिस वा अपराधीको फोटो पनि इन्टरनेट र इमेलबाट तत्कालै पाएर सबै जॉंचकर्ता पुलिसहरूलाई उपलब्ध गराउनु सक्ने हुनुपर्दछ। दुर्भाग्यको कुरो, एक जना व्यक्तिको घर गान्तोकबाट एक जना घरको सहयोगी घरबाट भागेर निस्केको खबर एक घण्टाभित्र थाहा पाएर राज्यबाहिरबाट इमेलमा फोटो रम्फू पुलिसलाई पठाइदिने बन्दोबस्त गर्दा पनि रम्फू पुलिस चौकीमा इन्टरनेट नभएकोले सो गर्नु नसकेको एक भुक्त भोगीले बताएका छन्।

यसैलै सिक्किमको प्रवेशद्वार रम्फूलाई इन्टरनेट, कम्प्युटर र सीटीभी जड़ान गरेर एकदमै आधुनिकीकरण गर्नु पर्ने माग अहिले जनसाधारणमा चर्चाको विषय बनेको छ, जसलाई पुलिस विभाग र सरकारले सकारात्मकरुपमा लिएर तत्कालै काम गर्नु पर्ने भएको छ

 

 

सिक्किम-सिलगढ़ीमा बढ़दो यौन कर्मी-केटी  लैजाने गुट सक्रीय

गान्तोक, 30 अक्टोबर:(हिस): सिक्किममा अहिले एड्स् रोगीहरूको संख्या लगभग 200को आंकड़ा पुग्दैछ भने सिक्किम-सिलगढ़ीको मार्ग भएर ओहोरदोहोर गर्दै वेश्यावृति गर्नेहरू अथवा यौन कर्मीहरूको संख्या पनि लगभग हजारको संख्यामा रहेको गैर कतिपय सरकारी प्रतिष्ठानहरूको स्वतन्त्र खोजीबाट थाहा पाइन्छ।

विशेष गरी डुवर्स,सिलगढ़ी तथा अन्य राज्यहरूबाट दलालहरू कुनै न कुनै कामको निहुँ गरेर दिन्हौ सिक्किममा पस्ने गरेको छ। धेरै जसो कुल्ली तथा घर निर्माणका काठपाठ, बिजुली जड़ान गर्ने, पानीको पाइप गर्ने, सिमेन्ट र ढलाइको काम गर्ने मिस्त्री रहेको छ भने कतिपय युवतीहरू होटेलतिर काम गर्ने बहाना बनाएर राज्यमा भित्रिने गरेको थाहा लागेको छ।

कतिपय दलालहरूले गाउँ -घरमा पसेर मोटो रकमको लालच देखाएर तथा स्थानीय महिलाहरूलाई नै लगाएर मोटो कमिसनको लोभ देखाएर यहॉंका स-साना बालिका, किशोरीहरूलाई काम लगाउने बहानामा सिलगढ़ी, दिल्ली र पुणेमा लगेर बेचेको घटना बार बार आइरहेको छ, तर स्थानीय प्रशासन तथा कुनै पनि एन्जीओ तथा विशेष संगठन र महिला संगठनले नारी तस्करी गर्ने विरोधी आन्दोलन भने सिक्किममा अहिलेसम्म आयोजन नगरेकोले सिक्किम अहिले दलालहरूको आँखामा रहेको छ।

छिमेकी देश नेपालबाट लाखौंको संख्यामा नेपाली ठिटीहरू लगेर मुम्बईमा बेचिएको घटना विगतको दिनहरूमा हुने गर्दथियो भने अहिले माइती नेपाल तथा मंगल माइतीहरूको सक्रीयताले केही हद्सम्म त्यहॉं सो तस्करी कार्यमा रोक लागेको छ, तर सिक्किममा पर्यटनको लागि जो सुक्कैलाई घुस्ने अनुमति भएकोले यहॉं सबै राम्रो वा असल पर्यटकहरू मात्रै राज्यमा घुम्नु आउँछन् भन्ने कुनै ग्यारन्टी छैन, यसमा केही नशाखोरी, नारी तस्करी गर्ने दलाल, ड्रग ओसार पोसार गर्नेहरू पनि हुन्छन्। उनीहरूको सही छानबीन नहुँदा नै राज्यमा अपराधहरू बढ़्ने क्रम हुँदछ।

केही अघि सिलगढ़ीको एक दैनिक नेपालीमा कोरियाको युवकको लागि नेपाली युवती बिहे गर्ने विज्ञापन छापिएको थियो।यो विज्ञापन सरासर कीर्ते विज्ञापन हो, किनभने कोरियामा नेपाली युवतीहरूलाई बिहे गरेर लगेको जस्तो गरेर त्यहॉं मोटो रकममा नेपाली युवतीहरू अरूलाई बेचिने गरिएको धेरैपल्ट सञ्चार माध्यमहरूमा आइसकेको रपोट हो। थाहा लागे अनुसार अश्लील भिडियो बनाउने तथा यस्तै अश्लील कार्यमा स-सानो बालिकाहरू फुस्लाएर लैजाने कोरियाको एक पुरुष जसको केश टाटे पाङ्रे सेतो कालो रहेको तादोङ स्थित लुम्से बस्तीमा दुई चार दिनको लागि आएको सुइँको छ, तर कुनै प्रकारको अपराधमा परेर सो व्यक्ति पुलिसको हातमा नपक्री सजिलैसित राज्य बाहिर सुइँकुच्चा ठोक्नु सक्षम भएको हुनुसक्ने पनि अनुमान लागेको छ।राज्यमा दिनोदिन बालिका तथा किशोरी र युवतीहरू हराउने गरेको पनि एकातिर छ भने कतिपय यस्ता युवती, बालिकाहरू गरीबवर्ग रहेको तथा घर परिवारबाट सताइने गरेकोले पनि यस्ता दलालहरूले सजिलै फकाइफुस्लाइ गर्नु सक्ने कुरो थाहा लागेको छ।विशेष गरेर अहिले मोबाइल फोनको कारण र सजिलै सम्पर्क हुने कारणले यौन कर्मीहरूको वृद्धि हुनुको कारण पनि मानिएको छ।

 

सिक्किममा चलचित्र तालिम केन्द्र हुनु जरुरी-सिक्किमकी प्रतिभाशाली नारी कलाकार पवित्र भट्टराई

गान्तोक, नोभेम्बर 1:(सुस): सिक्किमका वर्तमान मुख्यमन्त्री पवन चामलिङको अहिलेको कार्यकालमा सामाजिक,आर्थिक क्षेत्रदेखि लिएर अहिले विगतमा भन्दा कला क्षेत्रले पनि निक्कै उन्नति गरेको छ, तथा कला, चलचित्रको संरक्षणमा पनि मुख्यमन्त्री चामलिङले आज पनि सहयोग र प्रेरणा कसैले याचना गरे उहॉंले पूर्ण सहयोग गर्नु हुन्छ, यो हामी युवा युवती एवं कलाकारहरूको लागि सकारात्मक र असल पक्ष हामीले सिक्किममा पाएका छौं, यति हुँदा हुँदै पनि सिक्किममा सरकारी तौरमा नै योजनाबद्ध तरिकाले चलचित्र एवं कलाको क्षेत्रमा पनि सरकारले यस दिशामा अभिरुची राख्ने तथा अभिनयमा दक्षता हासिल गर्नु चाहने शिकारू तथा युवा कलाकारहरूलाई तालिम केन्द्र यहीं नै खोलेर प्रोत्साहन दिए अझ उत्तम हुनेछ तथा यसबाट युवा जमातले कला र चलचित्रलाई पनि पेशागतरुपमा लिएर तरक्की गर्नु सक्नेछ।

 यो कुरो हिमगिरि सम्वाददातासितको विशेष भेटवार्तामा सिक्किमका एक प्रतिभाशाली चलचित्रका होनहार नायिका सुश्री पवित्र भट्टराईले जनाएकी हुन्‌। तारेथाङ, पाक्मोङ पूर्व सिक्किममा माता तिलारुपा भट्टराई र पिता तेज प्रसाद भट्टराईको कोखमा जन्मेकी पवित्र भट्टराईले नेपाल र सिक्किमबाट निर्मित भएको नेपाली चलचित्रमा आफ्नो दक्षता र कलाकारिताको सफल प्रदर्शन गरिसकेकी छिन्‌ भने अब सिक्किमबाट डोडल फिल्म प्रोडक्सन्‌बाट निर्मित चलचित्रमा सिक्किमका एक लोकप्रिय नायक उत्तम प्रधानसित मूल नायिकाको भूमिका खेलेको चलचित्र अब बजारमा आउनु लागेको छ, जसमा उनले आफ्नो दक्षता प्रदर्शन गरेकी छिन्‌, जुन रिलिज भएपछि दर्शकवर्गले अवश्य मन पराउने कुरामा  सुश्री पवित्र भट्टराई विश्वस्त छिन्‌।

सन्‌ 1997 मा इमान नाटकदेखि चलचित्रमा पाइला चालेकी नायिका भट्टराईको बन्नी प्रधानद्वारा निर्देशित चलचित्र प्रियतमा र जसमा उनी सहायक नायिका छिन्‌ तथा मिसन लभ इन्‌ सिक्किम प्रदर्शन भइसकेको छ। उनले हालका रहेका सिक्किमका मन्त्रीगण सुश्री निरु सेवा र भीम ढुंगेलको साथमा पनि दूरदर्शनद्वारा निर्मित डकुमेन्टेरी फिल्ममा भूमिका निर्वाह गरेकी छिन्‌।

अहिलेको सन्दर्भमा सिक्किममा पनि कलाकारहरूको सम्मान हुनु थालेको जनाउँदै असल र इमान्दार भएर कला तथा चलचित्रमा लागिपरे निश्चय सफलता पाइन्छ, उनले जनाइन्‌।

नायिका भट्टराईले अहिले सानो पर्दा र ठूलो पर्दामा चलचित्र गर्ने कि नगर्ने भन्ने विवादलाई पर पन्साएर कला र चलचित्रमा कलाकारको कलाकारितामा सानो पर्दा र ठूलो पर्दामा अभिनय गर्ने कि नगर्ने भन्ने कुरा आउँदैन तर कसरी कलाकारले कला असल प्रकारले प्रदर्शन गरेर दर्शकको हृदय जित्नु सक्नु कलाकारको प्रमुख कुरा हो भनिन्‌।

 सन्‌ 2003 मा समाजशास्त्रमा स्नातकोत्तर अध्ययन गरिसकेर संगीत नाटक अकादमीद्वारा सिक्किमे लोक संस्कृतिमाथि शोधकार्य वा विद्यावारिधि गरिरहेकी नायिका भट्टराईले शिक्षाद्वारा नै नारीहरू सशक्त बनेर पुरुष समाजमा पनि सफलपूर्वक उभिनु सकिन्छ भन्ने जनाइन्‌।अहिले अभिरुचीकै माध्यम बनाएर चलचित्रमा काम गरिरहेको भए तापनि भविष्यमा गएर यसलाई पेशाकै रुपमा अपनाउने तथा कसैबाट अझ कर्मसियल वा व्यवसायिक चलचित्रको भूमिकाको अफर आएमा अझै गरेर देखाउने संकल्प लिएको जनाउँदै तर आफूले आर्ट पिक्चर वा कला चलचित्र मन पराउने गरेकी पनि जनाइन्‌ तथा हालैमा सिक्किममा निर्मित भएको कला चलचित्रले निश्चय सिक्किममा एकपल्ट प्रसिद्धी पाउने छ, सो अब रिलिज हुने मुहुर्तमा रहेको कुरो पनि नायिका भट्टराईले जनाइन्‌।उनलाई नायिकाको प्रमुख भूमिका रहेको चलचित्र खेल्दा नै सन्तुष्टि आउने कुरो पनि जनाइन्‌।उनले सिक्किम र देशका जति पनि नेपाली चलचित्र र अन्य भाषाको चलचित्रमा नारीहरू वा युवाहरू आउनु चाहन्छन्‌ भने पहिले शिक्षाको आधार दरिलो बनाएर आउनु पर्ने जनाउँदै भने यदि परिवार आर्थिकरुपले दरिलो छैन भने कलाकारले उचित शिक्षा हासिल गरेका छन्‌ भने कसैले पनि उनलाई आफ्नो र अन्य कुनै क्षेत्रमा शोषण गर्नु सक्दैन। उनले अहिले चलचित्रको बजारमा आफ्नो अङ्ग-प्रदर्शनको बेसी गर्ने बेसी नायिकाहरूको माग र सस्तो लोकप्रियता बढ़ेको भए तापनि धेरै नखेलेर एउटै आदर्श भूमिका खेलेर नारी कलाकारले चलचित्रमा राम्रो छवि बसाल्नु सक्ने मन्तव्य पनि व्यक्त गरिन्‌।

 गान्तोकमा स्वयं सहायता समुहको उत्पादन

गान्तोक, 12 अकटोबर:(हिस): सिक्किम प्रजातान्त्रिक मोर्चा सरकारको चुनाउ घोषणामा जनाइए अनुसार तथा मुख्यमन्त्री चामलिङले पहल गरे अनुसार सिक्किमका मानिसहरू उपभोता होइन तर उत्पादक बन्नुपर्दछ भन्ने तथ्यलाई सिक्किमका शिक्षित तथा अल्प शिक्षित बेरोजगारहरू तथा ग्रामीण तहका विशेष महिलाहरूले सेल्फ हेल्प ग्रुप वा स्वयं सहायता समूहको मार्फत  कदम चालेर केही हद्‌सम्म साकार पारेको आभास अहिले उनीहरूले उत्पादन गरेको वस्तुहरु पुरानो चिल्ड्रेन पार्कमा अवस्थित बिक्री तथा प्रदर्शनीले पुष्टि गरेको छ। स्वयं सहायता दल एउटा यस्तो समूह हो जुन समूह भारतका अन्य प्रदेशहरूमा सफल र शक्तिशाली बनेको छ, तथा विशेष महिलाहरूले बनिएको स-साना कामको लागि बनाइएको एउटा यस्तो व्यवसायिक संगठन हो,जसको सदस्यहरूबाट सदस्यता शुल्क उठाएर ग्रामीण व्यांङ्कमा जम्मा गरेपछि कतिपय योजनाबद्ध कामधन्दा तथा व्यापारको निम्ति ब्याङकले कम दरको सुदमा ऋण उपलब्ध गराउँदछ।सिक्किममा पनि बितेको 5 देखि 10 वर्षभित्रमा यस्ता स्वयं सहायता समूहले निक्कै कार्य गरेर लगिरहेको छ।

यस्तै समूहहरूद्वारा गठित अखिल सिक्किम स्वयं सहायता समूहहरूलाई लिएर ग्रामीण प्रबन्धन विकास विभागले उनीहरूले उत्पादन गरेको वस्तुहरूको प्रदर्शनी र बिक्री अहिले गान्तोक शहरको मास्तिर पुरानो चिल्ड्रेन पार्कको परिसरमा चलिरहेको छ।जम्मा 42 देखि 43 वटा यस्ता समूहहरू विशेष दक्षिण सिक्किम, पूर्व सिक्किम तथा उत्तर सिक्किमबाट लगाइएको छ। यसमा कञ्चनजङ्गा समूहका नारीहरूले आफ्नै हातले बनाएको सिन्के धुप बिक्री र प्रदर्शनीमा राखिएको छ भने प्रगति समूहले बॉंसले बुनेका विभिन्न कलाकारितासहितका सामानहरू बिक्रीमा राखेको छ।अहिले सयपत्री फूलको अभावमा गमलामा सयपत्री र यहॉंका फूलहरूले सजाएको किपु समूहको प्रदर्शनी पनि खूबै प्रशंसनीय छ भने महिलाहरूले सिलाइबुनाइद्वारा तयार पारिएको समान, अचारका परिकार आदि पनि राखिएको छ। सो प्रदर्शनीको उद्घाटन मन्त्री सी.बी. कार्कीले हालैमा गरेका थिए भने यो प्रदर्शनी तथा बिक्री आगामी 17 अक्टोबरसम्म रहने पनि जनाइएको छ। स्थानीय बासिन्दाहरूले यस प्रकारको उत्पादकमूलक कार्यमा प्रोत्साहन दिनुको लागि अघि आउनु पर्ने कुरो पनि स्वयं सहायता समूहका नारीहरूले यस सम्वाददातालाई आज जनाइन्‌।उनीहरूले स्थानीय वासिन्दाहरू सचेत भएर स्वयं सहायता समूहलाई यहॉंकै वासिन्दाहरूले उब्जनी गरेको सामान, खाद्य वस्तुहरू किनिदिएर उत्पादनमूलक कार्यलाई अघि बढ़ाउनुमा सहयोग प्रदान गर्नु पर्ने कुरो पनि जनाए।सिक्किम ग्रामीण विकास संस्था र सिक्किम ग्रामीण प्रबन्धन विकास विभागले स्थानीय उत्पादकहरूलाई प्रोत्साहन प्रदान गर्नुको लागि दिइएको यो अवसर समयोचित कदम धेरैले मानेका छन्‌।

 

सिक्किमको राजनीतिमा गोलेको मौनता र चामलिङको मलमपट्टी

 

-विशेष विश्लेषण लेख

 

गान्तोक, 28 नोभेम्बर:(विजय बान्तवा): यदाकदा स-साना मतभेद् र दूरत्व अनि व्यक्तिगत्‌ विषय पनि सिक्किमको राजनीतिमा मुद्धा बन्ने प्रचलनमा सिक्किममा अहिले सत्ताधारी दलका एक जानिन्दो नेता तथा पूर्व मन्त्री एवं वर्तमान विधायक प्रेम सिंह तामाङ वा प्रचलित नाम पी.एस. गोलेको राजनीतिक मौनता तथा विभिन्न कार्यक्रमदेखि लिएर सिक्किमको विधानसभासम्म नै अनुपस्थिति रहेको कुरोले अहिले यहॉंका मिडियाहरू र जनतामा खास चर्चाको विषय बनेको छ। अर्कोतिर चुनाउपछि सरकारी वेतनमान सठीक ढंगमा लागु नभएको आरोप र कथित बयानले सरकारी कर्मचारीमा पनि असन्तुष्टता छाएको तथा चुनाउ अघि दिएका चुनाउ घोषणाकै अनुरुप कामहरू गर्दै लैजानुमा 6 महिनासम्म बित्दा पनि सत्तारुढ़ दल तथा राज्य सरकारले सुस्तता अपनाइरहेको कुरालाई पनि लिएर प्रतिपक्षी खेमाका प्रतिक्रियाहरू मिडियामा छाउनु थालेपछि सत्तारुढ़ दलले सरकारी कर्मचारीहरूको वेतनमानमाथि प्रतिक्रिया पहिलो चोटि पेश गरी चौथो वेतन आयोगलाई छोड़ेर एकैचोटि छैटौं वेतन आयोग केन्द्र सरकारको हाराहारीमा लागु गर्नु पर्ने कुरोलाई उठान गरेका छन्‌।

एक प्रकारले अवलोकन गर्नु हो भने चुनाउ अघि दिएका घोषणाहरू अनुरुप जुन प्रकारले यहॉंका कार्यहरू सुसञ्चालित भएर जानु पर्ने थियो, त्यसमा गतिरोध नभए तापनि सुस्तता आएको र हालसम्म व्यापक प्रशासनिक अदलबदल मात्र भइरहेको तथा काममा केही विलम्भ देखा परेकोले यस्तो स्थिति उत्पन्न बइरहेको महसूस भएको छ।यहीं सुस्तताहरू र विधायक गोलेको क्रमश: अनुपस्थितिमा विपक्षी दलले निक्कै प्रतिक्रिया गर्ने ठाउँ भने निश्चय पाएको छ।सिक्किम जस्तो सानो राज्यमा कतिपय कुराहरू भए तापनि असन्तुष्टता, निराशता, उदासीनता र नकारात्मक कुराहरूलेे पनि छिटो प्रचार र प्रभाव पार्ने हुँदछ।यसो हुँदा यी असन्तुष्टता र उदासीनतालाई समाधान गर्ने दिशामा केवल एक्लो मुख्यमन्त्री र दलका नेता पवन चामलिङमाथि मात्र आशा वा नजर राख्ने तथा कतिपय वास्तविक कुराहरू नबताएर वा लुकाएर सबै कुरो ठीक छ भन्ने प्रवृति र संस्कार मुख्यमन्त्रीको कार्यालयदेखि लिएर पार्टीका कार्यकर्ता, सल्लाहकार एवं वरिष्ठ व्यक्तिहरूले त्यागेर यी सबै समस्याहरूलाई राम्ररी अध्ययन, पर्यवेक्षण गरी प्रजातान्त्रिक ढॉंचामा नै समाधान गर्ने उपाय खोजु अहिलेको सन्दर्भमा युक्तिसंगत रहेको छ।केवल बयानबाट अझ भ्रम उब्जाइने र असन्तुष्टताको हावा अझ फैलेर नकारात्मक परिणाम दिने हुँदा समाधान खोजेर सबैको पक्षमा बोलिदिने हुनु र काम गर्ने हुनु भनेको नै नेतृत्व, सत्तापक्ष र सरकारको काम हो, तर प्रतिपक्षीको भाषा बोल्नु सत्तापक्षको कर्तव्य हुँदैन।प्रतिपक्षीको भाषा चुनाउ प्रचार पछि सत्तामा रहिञ्जल स्थगित भएको हुन्छ, जनादेशबाट पाएको शक्तिको मात्र त्यसबेला प्रयोग गर्नुपर्ने हुन्छ, जनादेश पाएर विपरीत राग अलु भनेको राजनीतिक पलायनता, कर्तव्य परायणता हुनुजॉंदछ, जसले अन्तमा प्रजातन्त्रभित्र पनि निरंकुशता अपनाउने लाइसेन्स पाएको जनादेशलाई सम्झिने प्रवृतिको विकास हुन्छ।

वास्तविक कुरो उठान गर्नु हो भने विकासको मुद्धासितै पवन चामलिङले पञ्चायत र पूर्व विधायकहरूले बिगारेको काम आफैले सपार्ने र गल्तीहरूको स्वीकार गरेर आफ्नो विलक्षण राजनीतिक सुझबुझ प्रदर्शन गरेर फेरि विपुल जनादेश लिएर चौथोपल्ट सत्तामा आएका हुन्‌।विगत चुनाउमा भन्दा यसपालिको चुनाउमा 32वटै आसनबाट जितेपनि कांग्रेसले सिक्किमको राजनीतिमा पहिलो चोटि गत विधानसभामा कड़ा प्रतिस्पर्द्धा गरेर आफ्नो उपस्थितिको प्रमाण देखाइदिएको छ।जनताको विपुल आस्था त्यसैले चामलिङ सरकारसित रहेको बेला विभिन्न प्रकारको बयानबाजी र राजनीतिक शंका, उपशंका तथा अनुमानको गणितमा अड़िएर बस्नु भन्दा वास्तविक धरातलमा उभेर सत्तापक्षले काम गर्नु पर्ने समय रहेको छ।

सिक्किमको राजनीति र सत्तामा एक्लो नेतालाई नै सबै कुरोको जिम्मा र दोष लगाउने प्रवृति र संस्कार बसालिएको छ भने हालमा यी सबै समस्याहरूको पूर्ण जिम्मेवारी पनि मिङतोकगाङमा नै जम्मा भएको भान हुन्छ।एक्लो हुट्टिट्याउले सगर थाम्दैन भन्ने उक्ति सरह सरकारमा एक्लो व्यक्ति र नेताको हातमा मात्र सत्ताको बाग्डोर पारिदिने, प्रशंसा र फलमात्रै बॉंड्ने तर दोष जति नेतालाई मात्र खनाउने संस्कारबाट तत्कालै मुक्ति दिलाउनु र लिनु पर्ने सिक्किमको राजनीतिमा चुनौति आएको छ।

हिजो मात्र मुख्यमन्त्रीले विधायक गोलेको समष्टिमा आफैले जनतासित धेरै समय बसेर समस्याहरूको निराकार गर्ने जुन पहल गरेका छन्‌, यो प्रजातान्त्रिक र समय सापेक्ष पहल हो।यसरी नै उनले पहल गरिरहे यस्ता सबै समस्याहरूको समाधान हुन्छ। उनले कर्मचारीहरू, बुद्धिजीवीहरू, साहित्यकारहरू, पत्रकारहरू सबैसित यस्ता समाधानहरूको लागि आफ्नो ढोका खोल्नुपर्दछ तथा उनीहरूसित समन्वयता बनाइरहनुपर्दछ।उनीहरूलाई आफूसित वार्तालाप र बैठक गर्ने र गराउने समय आफैले निकाल्नुपर्दछ, सागरको गहिराइबाट मोती छान्नु सक्ने परख सरह ज्ञानलाई चुन्नु सक्नुपर्दछ।प्रजातान्त्रिक ढॉंचामा बैठक गरेर तथा एकार्काका समस्याहरू बुझेर मात्रै समाधान पाइन्छ, लगातार संवादहीनता र भेटघाटको कार्यक्रम स्थगितले भ्रमहरूमात्र पैदा गर्नुमा सहायक बन्दछ।यसरी सबै विकल्पहरू खुल्ला राखे तथा जनहितमा काम गरिरहे सबै जनता सत्तापक्ष वा चामलिङकै नेतृत्वमा अडिग भइरहनेछन्‌, अहिले पनि भइरहेका छन्‌, जबसम्म जनताको साथ छ, जनादेश छ, यस्ता स-साना राजनीतिक होहल्ला वा कुनै पनि दवाउ दलको दवाउ काम लाग्दैन।त्यसैले अहिले समग्र जनताको घाउमा मुख्यमन्त्रीको मलमपट्टी र उपचार हुनु र ध्यानकेन्द्रित हुनुपर्दछ।राज्य र देशको हितमा काम गर्ने शासकले गोले तत्व तथा दवाउ दलको दवाउभन्दा पनि माथि उभेर एक कर्मठ र सक्षम नेतृत्व गरेको हुनुपर्दछ।विपरीत परिस्थिति र चुनौति तथा राजनीतिक धर्मसंकटलाई जितेर काम गर्ने हुनु नै आज सॉंचो अर्थमा नेता हुनु हो।यसैले अब रहेको समय चामलिङ सरकार र सत्तापक्षले जनादेश पाइसकेपछि बाहियत कुरामा भन्दा आफ्नो कर्तव्य, आफ्नो दिशा र जनहित कार्यहरूमा अधिकभन्दा अधिक समय लगाउनु पर्दछ, जनतासित भेट् गर्ने समय निकाल्नैपर्छ, जाली र फटाहाहरूको कुरा सुनेर मात्रै सबै कुरा विश्वास गर्नु हुँदैन।

siksikkim news darjeeling news indian gorkhas      Himgiri Nepali home