sikkim news darjeeling news indian gorkhas    HOME      नेपाली लेख

 

 

 

देशबाट भ्रष्टाचार नहटेसम्म भारतीय स्वाधीनता अधुरो

-विजय बान्तवा

 बेलाइतको शासनबाट भारत वर्ष मुक्त भएको पनि अहिले 64 वर्ष नाघिरहेछ।प्रत्येक वर्ष 15 अगस्तमा पालन गरिइने स्वाधीनता दिवसको अवसरमा भारतलाई विदेशीहरूको प्रभुत्व र शासनदेखि मुक्त गर्नका लागि आफ्नो प्राणको आहुती दिने सयौं वीर विरङ्गनाहरूको नाम पनि स्मरण गरिन्छ भने कतिपय शहीद र स्वतन्त्र संग्रामी नेताहरूको नाम पनि ओझेलमा परिरहेकै छ। यसमा सबैभन्दा नसम्झिनहुने र सबैको स्मरणमा आइरहने नाम हो महात्मा गॉंधी।महात्मा गॉंधीको सत्य अहिंसा, असहयोग आन्दोलन र सबै तहका भारतीय नागरिकलाई एक सूत्रमा बॉंध्ने अत्यन्त शक्तिशाली मन्त्रले नै बेलाइतको शासन अन्तमा भारतबाट अन्त भएर गएको सर्व विदित छ।महात्मा गॉंधीको सत्य, अहिंसाको आन्दोलन र असहयोग आन्दोलनले भारतमा मात्र होइन, विश्वमा नै एउटा विशेष छाप छोड़ेर गएको छ।अंग्रेजहरूले समेत उनको सत्य र अहिंसाको भरपूर प्रशंसा गरेका छन्। स्वाधीनता दिवसको अवसरमा देशका यस्ता महान विभूतिको स्मरण गर्नु र उनले देखाएको मार्गमा बढ़्नु आज प्रत्येक भारतीय नागरिकको कर्तव्य बन्नु जॉंदछ।

यस दिन भारतभरि नै स्वाधीनता दिवस पालन गरिन्छ भने विश्वका कतिपय भागहरू जहॉं भारतीयहरू बसोबासो गर्दछन्, त्यहॉं पनि यो दिवसलाई विशेषरुपमा पालन गरिने परम्परा रहेको छ।यसरी सारा भारतीय नागरिकले केवल एक दिन पालन गरिइने दिवसमा मात्र यस्ता महान विभूतिहरूको नाम स्मरण नगरेर जीवनमा नै उनीहरूले अपनाएका उच्च आदर्शहरूलाई अनुसरण गरी यथार्थमा नै भारतको स्वाधीनताको विशेषता र महत्वलाई अघि बढ़ाउनु आज आवश्यक छ।

भारत यसरी विदेशीहरूको बाग्डोरबाट मुक्त गराए पनि अझ पनि धेरै वटा क्षेत्रहरूमा भारतीयहरूले संघर्ष गरी नव युगको नव भारतको निर्माणमा लागिपर्नु आजको समयको पुकार भएको छ।हिजोको दिनमा भारतमा अशिक्षा, गरीबीपना र अभावको विरुद्धमा संघर्ष गरे पनि अझ यी कुराहरूमा संघर्ष गर्नु नै बॉंकी छ। भारतको संविधानले प्रदान गरेको मौलिक अधिकार र दायीत्वहरूको पालन गरिनु पर्ने कुरालाई अझसम्म भारतीय नागरिकहरूले गम्भीरतापूर्वक लिएर ठोसरुपले काम गर्नु बॉंकी छ।

एकातिर काला धन, घुसखोरी, जमाखोरी र मिलावट खोरीको बढ़दो चपेटमा भारतीय जनजीवनलाई विपरीत असर पारेको छ भने देशमा हुने ठूलो ठूलो भ्रष्टाचार आदिले गर्दा देशमा आर्थिक असन्तुलनता, विषमता र गरीब र धनीमाझको दूरत्व अझ बढ़ेर गएको छ।बेरोजगारको मूल कारणले नै आज देशमा विभिन्न प्रकारको समस्याहरू पनि बढ़ेर गएको छ।

आज देशले विज्ञान, शिक्षा, कृषि हरेक क्षेत्रमा नै उन्नति गरेको छ।देश सर्व सम्पन्नताको दिशातिर अघि बढ़िरहेको समयमा तर यहॉंको आर्थिक सन्तुलन र प्रशासकीय व्यवस्था तथा दूषित राजनीतिक क्रिया कलाप तथा प्रजातन्त्रमा सबैले अधिकार मात्र खोजे तर कर्तव्यबोध नगर्ने जस्ता कुराहरूले गर्दा देश सही दिशामा अघि बढ़्नु सकेको छैन।सबैलाई सबै प्रकारको सहुलियत मात्र चाहिने, बेसी उपभोक्तावादी र विलासी जीवन शैलीको आदतले आज शहरीकरण र अन्धाधुन्ध बाहिरी संस्कृति र आचरणको कारणले गर्दा भारतीय जनजीवनमा एउटा ठूलो चुनौति आइपुगेको छ।आफ्नो भाषा, संस्कृति र परम्पराको उत्थान गर्दै विश्वमा नै भारत र भारतीयतालाई स्पष्टरुपमा प्रतिनिधित्व गराउने महान अभियानलाई आज साकाररुप दिनु नयॉं पिंड़ी र युवाहरूमा ठूलो चुनौति आइपरेको छ। आज विश्वमा खेलकूद, संगीत, कला, विज्ञान तथा हरेक क्षेत्रमा नै भारतीय युवाहरू तथा नयॉं पिंढ़ीहरूले एउटा नयॉं आयाम थपेर तथा विश्वमा नै कीर्तिमान कायम गर्ने चुनौति लिनु आवश्यक रहेको छ।

महात्मा गॉंधीले देखेको रामराज्य र सुन्दर भारतको निर्माणको लागि आज अति नै आवश्यक भएको छ असल राजनीतिक संस्कारको।सबैभन्दा देशको ठूलो शत्रु आज सीमानाबाहिर नभएर देशभित्र नै रहेको छ।आन्तरिक कलह तथा आतंकवाद जस्ता क्रियाकलापले भारतलाई मात्र होइन विश्वलाई नै चुनौति भइरहेको छ।देशभित्र भएको यस्तो शत्रु मध्येमा आतंकवाद र भ्रष्टाचार ठूलो शत्रु हो। कुनै पनि सरकार र राजनीतिक दलले भ्रष्टाचार उन्मुलन गर्ने ठूलो नारा लिएर उभिएको भए तापनि कहीं न कहीं भ्रष्टाचार , प्रशासनिक कमजोरी वा त्रुटिहरूले गर्दा भइरहेको छ।देशमा भएका यस्ता कतिपय भ्रष्टाचारहरूले गर्दा संसद्मा समेत ठूलो रुप लिने गरेको छ, तर यस्ता घटनाहरूबाट नेताहरूले कुनै शिक्षा लिएको र असल संस्कार बसालेको प्रतीत हुँदैन।देशमा धेरै जसो सत्ताधारी र सत्ताच्युत नेताहरू भ्रष्टाचारमा लिप्त रहेको कैयन् दृष्टान्तहरू अहिले प्रकाशमा आइरहेको छ, यो स्वाधीन भारतको लागि ठूलो अभिशाप हो।प्रजातन्त्रको लागि यो ठूलो विडम्बना हो।भ्रष्टाचारले गर्दा नै महात्मा गॉंधी र हजारौं शहिदहरूले देखेको महान भारतको सपना आज साकार भइरहनु सकेको छैन भन्ने ठोकुवा लगाउनु सकिन्छ।

यसैले स्वाधीन भारतको नयॉं निर्माणको लागि अब नयॉं पिंढ़ीहरूले सबैभन्दा पहिला आफ्नो चरित्र र असल संस्कारको निर्माण गर्नु पर्दछ।यसरी असल संस्कार र सद्चरित्र भएको नयॉं पिंढ़ीले मात्र भ्रष्टाचारले भिजिसकेको पुरातन मानसिकताहरूलाई हटाएर एउटा नयॉं भारतको निर्माण गर्नु सक्दछ।आज विदेशीको हातबाट भारत स्वाधीन भए तापनि धेरै जसो भारतीय नागरिकहरूले गरीबीपनाबाट मुक्ति पाएका छैनन्। कहिले भ्रष्टाचार नगर्ने तथा सरकारी र जनताको धनको दुरुपयोग नगर्ने तथा हर तरहले हर क्षेत्रमा सॉंचो प्रतिस्पर्ध्दा गर्नु सक्ने सॉंचो भारतीय नागरिकले मात्र देशलाई विकास र नयॉं दिशातर्फ लैजानु सक्दछ।भारतलाई सॉंच्चै यी सबै विषमताहरूबाट नयॉं दिशा लैजानु हो भने युवाहरू अझ हुलका हुल राजनीति र हरेक क्षेत्रमा लागेर पुरातन व्यवस्था र भ्रष्टाचारको विरुद्ध लड्नु सक्नु पर्दछ।आज भारतमा के विडम्बना छ भने सबै राजनीतिक दलहरूले चुनाउ घोषणा पत्रमा भ्रष्टाचार विरुद्ध लड्ने प्रण गर्दछन् र सत्तामा आउँदछन् पनि, तर सत्तामा आइसकेपछि उनीहरू पनि कहीं न कहीं कुनै रुपमा भ्रष्टाचारमा लिप्त हुन्छन्।धेरै जसो नेताहरू भ्रष्टाचारीहरूले बुनेको जालमा आफू जानी नजानी फँसिसकेका हुन्छन्, यसबाट मुक्ति पाउने उपायको रुपमा विशालरुपले युवाहरूले गॉंधीवादी नीतिलाई पहिले नै अपनाएर असल गॉंधीको आदर्श भएको तथा त्याग भएको नेतालाई मात्र अघि बढ़ाएर चुनाउमा जिताउनु पर्दछ।भोटको बेला पैसा र खानेकुरा, मद्मदिरा वितरण गर्ने र चुनाउ जितेपछि जनताबाट हराउने नेताहरूबाट युवा र जनता जनार्दन जोगिनु पर्दछ।देशलाई र जनतालाई सॉंच्चै त्याग र समर्पण गर्ने नेतालाई मात्र कुर्सीमा पठाउने एवं बसाउने परम्परा थाल्नु पर्छ। सामाजिकरुपले यसमाथि अहिले भारतमा ठूलो बहस चलिरहेको छ तथा संसद्मा पनि लोकपाल विधेयक यसै कुरालाई लिएर पेश गरिसकिएको छ।

देशमा भ्रष्टाचार विरुद्ध अनेक नियम अधिनियम बनिए तापनि देशका जनता र नेताहरूको आचरण असल नभएसम्म ती नियमहरू तोड्ने वा ती नियमहरूको दुरुपयोग गर्ने कामहरू भइरहने छ।आज सूचना अधिकार ऐनबाट पनि देशमा भइरहेको भ्रष्टाचारहरूको पर्दाफास भइरहेको छ तथा केही हद्सम्म सूचना अधिकारले भ्रष्टाचार विरुद्धको अभियानमा सहयोग गरिरहेको छ, तर सूचना अधिकार ऐनको पनि दुरुपयोग गर्ने समुहले भ्रष्टाचारलाई कुनै न कुनै रुपमा प्रोत्साहन दिइरहेको कुरो पनि सार्वजनिक भइरहेकै छ।वास्तवमा जे गरे तापनि सबै कार्यकर्ताहरू, कर्मचारी, पुलिस, पत्रकार, अधिकारी, मन्त्री, विधायक, पञ्चायतहरूको नियत र आचारण ठीक नभएसम्म जस्तै गरे तापनि भ्रष्टाचारले स्वाधीन भारतलाई ठूलो असर गरिरहेको नै हुनेछ।

यसैले स्वाधीनता दिवसको यो अवसरमा सबैभन्दा पहिला सॉंचो भारतीय नागरिकहरूले आफ्नो आचरण र चरित्रलाई नै सबैभन्दा असल बनाउनु पर्ने प्रण गर्नु पर्दछ।आफ्नो आचरण असल भए मात्र असल राजनीतिक व्यवस्था, असल समाज र असल देशको निर्माण हुन्छ।मतिभ्रष्ट र आचारहीन व्यक्ति एवं नेताहरूलाई यो देशको शासनको बाग्डोर सुम्पिने गल्ती पनि जनताले बार बार गर्नु हुँदैन।आज स्वाधीन भारतको नव निर्माणमा भारतीयहरूले सही चेतना र विवेकको पनि विकास गरेर अघि बढ़्नु आवश्यक रहेको छ।देश यसरी विकासको दौड़मा पछि परेको कुरामा दोषारोपण र आक्षेपहरू एकार्कामा नबर्साएर असल र विवेकपूर्ण कार्यमा अभियान चाल्नु सबैको आजको अनिवार्य दायीत्व छ।देशमा भ्रष्टाचार हटाइने अभियानमा अन्ना हजारे जस्ता हजार हजार देश-प्रेमी, संग्रामी र नागरिक समाज एवं संगठनहरूको जन्म हुनुपर्दछ। 

 
siksikkim news darjeeling news indian gorkhas      Himgiri Nepali home